क्वारेन्टाइनमा बस्ने २२ हजार पुगे
काठमाडौं, १६ वैशाख । देशभर रहेका क्वारेन्टाइनहरुमा बस्ने व्यक्तिको संख्या २२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार आयोजित कोरोना भाइरस अपडेटका क्रममा प्रवक्ता डा. विकास देवकोटाले यस्तो बताएका हुन् ।
डा. देवकोटाका अनुसार मंगलबार क्वारेन्टाइनमा बस्नेहरुमा कुल २२ हजार ९९ जना छन् । जसमध्ये प्रदेश १ मा दुई हजार दुई सय ९९, प्रदेश दुईमा एक हजार पाँच सय १२, बागमती प्रदेशमा तीन सय ६१, गण्डकीमा ६ सय ७६, प्रदेश ५ मा मात्रै १२ हजार एक सय ६४ जना, कर्णाली प्रदेशमा तीन हजार सात सय ८९ र सुदूरपश्चिम प्रदेशमा एक हजार तीन सय नौ जना रहेका छन् ।
यस्तै हालसम्म सबै भन्दा धेरै आरडिटी परीक्षण बागमती प्रदेशमा भएको पनि उनले बताएका छन् । उनका अनुसार प्रदेश १ मा चार हजार आठ सय २८, प्रदेश २ मा पाँच हजार दुई सय ४९, बागमती प्रदेशमा आठ हजार १४, गण्डकी प्रदेशमा चार हजार नौ सय ३६, प्रदेश ५ मा पाँच हजार तीन सय २८, कर्णाली प्रदेशमा पाँच हजार एक सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार दुई सय ८३ नमूना परीक्षण गरिएको छ । हालसम्म कुल परीक्षणको संख्या ५४ हजार आठ सय २६ परीक्षण भएका छन् । जसमध्ये १० हजार आठ सय ७ वटा पिसिआर प्रविधिबाट परीक्षण भएको छ । आरडिटी विधिबाट ४४ हजार १९ छन् ।
देशभरमा आइसोलेसनमा रहेकाहरु एक सय ७ जना छन् । जसमध्ये काठमाडौं उपत्यकामा चार जना र उपत्यका बाहिर एक सय तीन जना छन् ।
रौतहटका दुवै कोरोना संक्रमित भारतबाट फर्किएका
सो क्रममा डा. देवकोटाले रौतहटमा मंगलबार भेटिएका दुबै कोरोना संक्रमित भारतबाट आएको पनि जानकारी दिएको छ। उनीहरुको उमेर २४ र ३५ वर्ष छ। दुवैजना पुरुष हुन् ।
उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिकाका बासिन्दा हुन् । यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।