रौतहटमा फेरि भेटिए दुई कोरोना संक्रमित

रौतहट, १६ वैशाख । रौतहटमा फेरि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका ९ भुसहाका अन्दाजी २५ वर्षका र देवाही गोनाही नगरपालिका १ का अन्दाजी ३० वर्षका गरि २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाब परीक्षणमा नेगेटिभ देखिएपछि स्वास्थय मन्त्रालयकै निर्देशन अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः नमूना जाँच गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
उनीहरु दुबै जना भारतको कोलकोत्तामा कामको शिलशिलामा बस्दै आएको र भारतमा लकडाउन जारि गरिएपछि हिँड्दै नेपाल आइपुगेको पनि यादवले बताए ।
कोलकाताबाट फर्केका उनीहरुलाई चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको र त्यहीबाट स्वाब संकलन गरिएको थियो ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
यसअघि सर्लाही धनकौलका १४ वर्षका एक जना किशोरमा पनि प्रादेशिक अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको र पछि टेकुमा जाँच गर्दा उनमापनि कोरोना पुष्टि भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले मेसिनमा समस्या आएको भन्दै प्रादेशिक अस्पतालको पीसिआर परीक्षण दोहोर्याएर काठमाडौंमा गरिने निर्देशन दिएको थियो ।
यसअघि रौतहटकै १९ वर्षको युवकमापनि कोरोना पुष्टि भएको थियो । उनी ३ दिनअघि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमा ४ जना डिस्चार्ज भइसकेका छन् । समग्र नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना डिस्चार्ज भइसकेका छन् ।