चितवनमा रिएजेन्ट सकिँदा फेरि रोकियो कोरोना परीक्षण

चितवन, १५ वैशाख । भरतपुर–१० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा फेरि परीक्षण नै रोकिएको छ ।
पीसीआर परीक्षण गर्ने रिएजेन्ट सकिएपछि कोरोना परीक्षण रोकिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । एक साता अघि पनि रिएजेन्टको अभावमा कोरोना परीक्षण रोकिएको उनले बताए । रिएजेन्ट उपलब्ध भएपछि केहीदिन सञ्चालनमा आएको भए पनि पुनः अभाव हुँदा परीक्षण रोकिएको उनले बताए ।
प्रयोगशालामा सुरूमा ४ सय र देस्रो चरणमा ६० वटा नमुना परीक्षणको लागि पुग्ने रिएजेन्ट आएकोमा सबै रिएजेन्ट सकिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजसंगको कुराकानीमा बताए ।
स्वास्थ्य मन्त्रालयसंग माग गरिए जति रिएजेन्ट उपलब्ध नभएकाले परीक्षण रोकिएको उनले बताए । बुधबार साँझसम्म चिनबाट मन्त्रालयमा रिएजेन्ट आउने सूचना आफुले पाएको उनले बताए । रिएजेन्ट प्राप्त हुनसाथ परीक्षण पुनःसञ्चालनमा आउने छ ।
मन्त्रालयसँग आवश्यक समन्वय भैरहेको समेत उनले बताए । सोमबार संकलन गरिएका २३ वटा नमुना परीक्षणका लागि काठमाडौं केन्द्रीय प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।
चितवनमा चैत २३ गते औपचारिक रूपमा भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला शुभारम्भ भए पनि चैत २४ देखि नियमित रूपमा कोरोना भाइरसको परीक्षण भइरएको थियो । अहिले यो प्रयोगशाला भरतपुर अस्पताल मातहत सञ्चालनमा छ ।
रिएजेन्टको अभावमा अहिले देशभर कोरोना प्रयोगशालामा परीक्षण प्रभावित हुनुको साथै चितवन लगाएत कतिपय ठाउँमा परीक्षण नै रोकिएका छन् ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।