कोरोना विरुद्धको लडाइमा दक्षिणपूर्वी एसियामा नेपालको अवस्था सामान्य



Download our app to get more features

काठमाडौं, १५ वैशाख । सरकारले नेपाल दक्षिणपूर्वी एसियामा कोरोना भाइरस विरुद्धको लडाइमा सुधारात्मक अवस्थामा रहेको दावी गरेको छ । 

११ मुलुक रहेको दक्षिणपूर्वी एसियामा कोरोनाको अवस्था सुधार हुनेमा नेपाल भुटानपछि दोस्रो स्थानमा छ । भुटानमा हालसम्म ७ जनामा मात्रै कोरोना संक्रमण देखिएका छन् र कसैको पनि मृत्यु भएको छैन । 

नेपालमा संक्रमितको संख्या ५२ पुगे पनि मृत्यु कसैको भएको छैन । ११ दक्षिणपूर्व एसियाका स्वास्थ्य मन्त्री र स्वास्थ्य राज्यमन्त्री स्तरीय भएको भिडियो संवादमा नेपालको अवस्था सुधारात्मक रहेको पाइएको वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित जानकारी दिँदै बताए ।

यस्तै सरकारले कोरोना भाइरस विरुद्धको लडाइमा अपनाएको रणनीतिलाई आगामी दिनमा अझ बढी कार्यान्यवनमा जोड दिने भन्दै उनले केही चुनौती देखिएपनि विज्ञहरुको सुझावबाट समस्या र चुनौतीको सामना गर्ने पनि बताए ।

सरकारले कोविड १९ विरुद्धको जोखिमलाई कम गर्न सुरुको चरणमा लिएको ४ रणनीति प्रवेशमा रोक लगाउने, जनचेतना जगाउने, क्वारेन्टाइन व्यवस्थापन र निगरानी तथा बिरामीको व्यवस्थापन गर्ने कुरालाई ध्यान दिएर गरेको कार्यक्रम प्रभावकारी भएको निष्कर्स निकाल्दै सरकारले लिएको अर्को ६ टीको रणनीतिलाई आउने दिनमा झन् बढी कडाइका साथ कार्यान्वयन गर्ने डा.देवकोटाको भनाइ छ ।

उनले नेपालमा इपिडिमियोलोजिस्ट, सर्भिलिएन्स विज्ञको अभाव हुँदापनि विज्ञहरुको सुझावका आधारमा सरकार कोरोनाको लडाइमा लागि रहेको र यसका लागि सबैले सहयोग गर्नुपर्ने बताए । 
 
सरकारले पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु बन्न थालेको प्रदेश १ र २ मा कोरोना परीक्षणको दायरा बढाएको छ । प्रदेश १ को उदयपुर, झापाको दमक, प्रदेश २ को ८ वटै जिल्लामा कोरोना जाँचको दायरा बढाएर नमूना संकलनको काम सुरु गरेको छ ।

प्रदेश २ को ८ जिल्लामा गरि १५ सय जनाको नमूना संकलनको लक्ष्य लिइएकोमा हालसम्म एक हजार २६ नमूना संकलन भएको छ । उदयपुरमा ४ सय १३ र झापाको दमकमा ५० जनाभन्दा बढीको नमूना संकलन गरिएको छ । 

यस्तै प्रदेश ५ मा पनि अब कोरोना परीक्षणको दायरा बढाउँदै नमूना संकलनको काम सुरु हुने उनले बताए ।

Last modified on 2020-04-27 07:25:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts