कोरोना संक्रमित चितवनका युवक डिस्चार्ज, तर आमाको कुरुवा बस्न अस्पतालमै



Download our app to get more features


चितवन १३ वैशाख । चितवनका कोरोना संक्रमित २७ वर्षीय युवक शनिवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

युवकको दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि उनलाई निको भएर डिस्चार्ज गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । 

डिस्चार्ज भएपनि उनी आमालाई कुर्न अस्पतालमै बस्ने प्रस्ताव गरेकाले उनलाई बिरामी कुरूवा कोठामा सारिएको उनले बताए । एक-दुई हप्ता उनी क्वारेन्टाइनमा बस्नुपर्ने उनले जनाए ।

चितवनको राप्ति नगरपालिका निवासी ती युवकलाई आज दिउँसो ४ बजेतिर डिस्चार्ज गरिएको हो ।


युवकको ६३ वर्षकी आमाको भने बिहिबार गरिएको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । उनलाई रिपोर्ट नेगेटिभ नआउनजेल अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने डा. तिवारीले जानकारी दिए । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

उनीहरूमा खासै स्वास्थ्य समस्या नदेखिएकाले सामान्य तरिकाले उपचार गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनीहरूको स्वास्थ्यमा कुनै समस्या देखिन्छ कि भनेर उच्च सावधानीका साथ निगरानी गरिएको उनले बताए ।संक्रमित दुवै जनाको सुरूदेखि नै मनोबल उच्च रहेको आफुले पाएको उनले बताए ।

कोरोना जितेका युवक डिस्चार्ज भएपछि चितवनमा कोरोना संक्रमितकाे संख्या एक जना मात्र रहेकाे छ ।

महिलाको वैशाख ३ गते गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि दुवै जनालाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

चैत ३ गते लण्डनबाट हङकङ हुदै नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै भरतपुर अस्पतालले सीसीटीभी, टेलिफोन र इन्टरनेटको माध्यमबाट उच्च सतर्कता अपनाउदै विरामीको विशेष हेरचाह गर्दै आएको छ ।

Last modified on 2020-04-26 02:42:31

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts