कोरोना भाइरस संक्रमण अपडेट : भारतमा लकडाउन खुकुलो, श्रीलंकामा २४ घण्टा कर्फ्यू



Download our app to get more features

एजेन्सी, १३ वैशाख । भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो बनाएको छ । भारतीय गृह मन्त्रालयले एक सूचना जारी गर्दै आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने जनाएको हो ।

पसलमा ५० प्रतिशतभन्दा बढी कामदार राख्न नपाइने गृहमन्त्रालयले जनाएको छ । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन । केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई कोरोनाको उच्च निगरानीमा राखेको जनाएको छ । भारतमा हालसम्म कोरोनाका कारण २४ हजार पाँच सय ६ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ७ सय ७५ छ ।

पाकिस्तान सरकारले कोरोना भाइरसको महामारीलाई ध्यानमा राखि लकडाउनको समयलाई  ९ मे सम्म थप गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तान सरकारले कलडाउनलाई निरन्तरता दिएका हो । विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा थप १५ दिनका लागि लकडाउन थपिएको जानकारी दिए । पाकिस्तानमा हालसम्म कोरोनाका कारण ११ हजार सात सयभन्दा बढी नागरिक संक्रमित भएका छन् भने दुई सय ४८ जनाको मृत्यु भइसकेको छ ।

शक्तिशाली राष्ट्रहरुले कोरोना प्रभावित मुलुकलाई सहयोग गर्ने 
संयुक्त राष्ट्र संघमा आबद्ध शक्तिशाली राष्ट्रहरुले कोरोना प्रभावित मुलुकलाई सहयोग गर्ने भएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित र कमजोर मुलुकलाई सहयोग गर्न आग्रह गरेको हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कमजोर र प्रभावित मुलुकलाई यसअघि कोरोना विरुद्धको खोप र औषधि पत्ता लगाउन भनिसकेको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । विश्मै सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा हालसम्म कोरोनाका कारण ८ लाख ९० हजारभन्दा बढी संक्रमित भएका छन् । तर, कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको न्युयोर्क राज्यमा पछिल्लो २४ घन्टामा मृत्यु हुनेको दरमा कमी आएको छ । जुन गत मार्च ३१ यताकै सबैभन्दा कम रहेको छ । न्युयोर्कमा हिजो मात्र ४ सय २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । अहिलेसम्म न्युयोर्कमा मात्रै २१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
यसैबीच अमेरिकाले अन्य कोरोना प्रभावित मुलुकलाई भेन्टिलेटर सहयोग गर्ने जनाएको छ । अमेरिका आफै प्रभावित भएका बेला पनि अन्य मुलुकलाई भेन्टिलेटर सहयोग गर्ने भन्दै आफ्ना देशका कम्पनीहरुलाई हप्तामा १० हजार थान भेन्टिलेटर निर्माण गर्न भनेको छ ।

श्रीलंकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि २४ घन्टाको लागि कर्फÞ्यू जारी गरिएको छ । हिजो मात्रै ४६ जना नयाँ कोरोना संक्रमित फेला परेपछि श्रीलंका सरकारले २४ घन्टाको लागि कर्फ्यू जारी गरेको हो । योसँग श्रीलंकामा कोरोना संक्रमितको संख्या ४ सय २० पुगेको छ र ७ जनाको मात्रै मृत्यु भएको श्रीलंका सरकारले जनाएको छ ।

चीनमा विगत १० दिनयता एक जनाको पनि कोरोना कारण मृत्यु भएको छैन । चीन सरकारले जनाए अनुसार विगत १० दिनयता उत्तरी क्षेत्रमा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरसका कारण त्यहाँ ५ हजारको मृत्यु भएको थियो भने ८० हजारभन्दा बढी संक्रमित भएका थिए । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको हेएइलोङ्जियाङ्ग राज्यमा १२ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ११ जना आयातित हुन भने एक जना मात्रै चीनका नागरिक हुन् ।

इटलीमा एक सय ५० डाक्टरको मृत्यु

इटलीमा कोरोनाका कारण एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटलीको डाक्टर एसोसिएशनले दिएको जानकारी अनुसार इटलीमा समग्र संक्रमितमध्ये करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् । इटालीमा अहिलेसम्म एक लाख ९२ हजार नौ सय ९९४ जना मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २५ हजार नौ सय ६९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । इटाली अमेरिकापछि कोरोनाका कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक हो ।

Last modified on 2020-04-25 15:19:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts