कोरोना जितेर घर फर्कदै चितवनका युवक, आमालाई अझै अस्पतालमै राखिने

चितवन, १३ वैशाख । चितवनका कोरोना संक्रमित २७ वर्षीय युवक आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
युवकको दोस्रो र तेस्रो रिपोर्ट लगातार नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
चितवनको राप्ति नगरपालिका निवासी २७ वर्षीय ती युवकलाई आज दिउँसो ४ बजे एउटा कार्यक्रम गरेर डिस्चार्ज गर्ने योजना रहेको उनले बताए । एक-दुई हप्ता उनी घरमै क्वारेन्टाइनमा बस्नुपर्ने पनि उनले बताए ।
युवकको ६३ वर्षकी आमा भने केहि दिन अझै अस्पतालमै रहनुपर्नेछ । उनको बिहिबार गरिएको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । उनलाई रिपोर्ट नेगेटिभ नआउनजेल अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने डा. तिवारीले जानकारी दिए । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
कोरोना जितेका युवक डिस्चार्ज भएपछि चितवनमा कोरोना संक्रमित एक जना मात्र रहने छन् ।
महिलाको वैशाख ३ गते गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएपछि सोहि दिनदेखि दुवै जनालाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
चैत ३ गते लण्डनबाट हङकङ हुदै नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा वैशाख ५ गते स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै भरतपुर अस्पतालले सीसीटीभी, टेलिफोन र इन्टरनेटको माध्यमबाट उच्च सतर्कता अपनाउँदै बिरामीको विशेष हेरचाह गर्दै आएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।