लकडाउनमा पनि स्वास्थ्य बीमाको सेवा लिन सकिने

काठमाडौं, १३ वैशाख । लकडाउनको अवधिमा स्वास्थ्य बीमाका सेवाहरु सुचारु रहेको छ ।
राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले लकडाउनको अवधिभर सेवा दिन मातहतका अस्पताललाई पत्र पठाएर स्वास्थ्य बीमाका सेवा सुचारु गर्न भनेको हो ।
बोर्डका सूचना अधिकारी कृष्ण प्रसाद आचार्यले जुन स्वास्थ्य संस्थासँग बीमाका लागि सहमति भएको छ ती सबैले आफ्नो सेवा लकडाउनमा सुचारु राखेको बताए ।
हाम्रो डाक्टर न्यूजसँगको कुराकानीमा उनले सूचिकृत स्वास्थ्य संस्थामा बीमा गराएका नागरिकले आफूले गराएकै स्वास्थ्य संस्थामा गएर सेवा लिन सक्ने जानकारी गराए ।
उनले भने, ‘आफूले जुन संस्थामा बीमा गराएका छन् तीनैमा बीमा गराएको पत्रसहित गएर स्वास्थ्य बीमाका सेवा लिन सकिन्छ । तर, सरकारद्वार सूचिकृत स्वास्थ्य संस्थामा बीमा गराएको हुनुपर्छ ।’
बन्दाबन्दीको बेला स्वास्थ्य बीमाका सेवा सुचारु रहने वा नरहने गुनासो आइरहँदा बोर्डले भने बन्दाबन्दीमापनि स्वास्थ्य बीमा अन्तर्गतका सेवा सुचारु रहेको बताए ।