२५ दिनदेखि भारतीय क्वारेन्टाइनमा बसेका एक सय जना नेपाली नेपाल भित्रिए



Download our app to get more features

रुपन्देही, १३ वैशाख । विगत २५ दिनदेखि भारतीय क्वारेन्टाइनमा रहेकामध्ये एक सय जना नेपाली नेपाल भित्रिएका छन् । 

उनीहरुलाई आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजिटिभ देखिए आइसोलेसनमा राखी थप उपचार गरिने भएको छ ।

भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरु लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल आउन खोजेको कारण उनीहरुलाई भारतको नौतनवामा रहेको विभिन्न तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो ।

पहिलो चरणमा १ सय जनालाई भारतबाट नेपाल भित्र्याइएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले ३ चरणमा गरी उनीहरुलाई नेपाल भित्र्याइने बताए ।

नेपाल भित्रिएकाहरुको आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजिटिभ देखिए यतै आइसोलेसनमा राखी थप उपचारको व्यवस्था गरिएको पान्डेले बताए ।

भारतमा रहेका नेपालीहरुलाई १४ दिनको क्वारेन्टाइनमा राख्ने भनिएको थियो ।  १४ दिनकोे अवधि पुगे पनि उनीहरुलाई नेपाल आउन नदिएपछि नेपालीहरु आक्रोशित भएको थिए । दुई देशको जिल्ला प्रमुखहरु तथा प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयको समन्वयमा नेपालीहरु नेपाल फर्किएका हुन् ।

नेपाल फर्केका नेपालीलाई लिन सम्बन्धित स्थानीय तहहरुले सवारीसाधनको व्यवस्थापन गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्क बहादुर खत्रीले बताए । सवारी व्यवस्थापन हुन नसकेको हकमा भने यतै क्वारेन्टाईनमा राखेर स्थिति सहज भएपछि पठाउने खत्रीले जानकारी दिए । 

भारतमा रहेका नेपालीहरु नेपाल फर्किए पनि नेपालतर्फ रहेका भारतीय नागरिकहरुबारे अझै पनि केही निर्णय हुन सकेको छैन ।

Last modified on 2020-04-25 07:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts