जनकपुरमा गरिएको पिसिआर परीक्षणको नतिजा काठमाडौंमा पुनः परीक्षण गरिने

काठमाडौं, १२ वैशाख । प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर विधिबाट हुने कोरोना परीक्षणको नमूना काठमाडौंमा पुनः परीक्षण गरिने भएको छ । जनकपुरमा पिसिआर परीक्षण गराउँदा सर्लाहीका बालकको रिर्पोट नेगेटिभ देखिएको तर काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालमा हुने परीक्षण पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने भएको हो ।
सर्लाहीको धनकौल गाउँपालिका–५ का १४ वर्षका किशोरको गत ५ वैशाखमा प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो । नतिजा गलत आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घर फिर्ता गरिएको थियो । तर उनै किशोरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि मेसिनमा समस्या भएको हुन सक्ने भन्दै पुनः परीक्षणका लागि नमूना काठमाडौं पठाइने निर्णय भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामविनय साहले बताए ।
यस्तै कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर ल्याइने भएको छ । ३० फागुनमा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि भएको थियो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ । थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने निर्णय भएको जिल्ला जनस्वास्थ्य प्रमुख फणिन्द्र कार्कीले जानकारी दिए ।
बिहिबार कोरोना संक्रमण पुष्टि भएका सर्लाहीका १४ वर्षिय किशोरलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाईएको छ । सर्लाहीको धनकौल गाउँपालिका ५ का ती बालकको पं्रादेशिक अस्पताल जनकपुरमा स्वाब परिक्षणका क्रममा कोरोना संक्रमण भएको पाईएको थियो । उनलाई आज बिहान साढे १० बजे नारायणी अस्पतालको आईसोलेसनमा भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । यससँगै नारायणी अस्पतालको आईसोलेसनमा पाँच जना कोरोना संक्रमितको उपचार भैरहेको छ । यसअघी कोरोना संक्रमण पुष्टि भएका वीरगञ्जको छपकैयास्थित मस्जीदमा बस्दै आएका तीन भारतीय र रौतहटका एक व्यक्तिको पनि नारायणीमै उपचार भैरहेको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।