सिंगापुरको टेमसेक फाउन्डेसनले दिएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

काठमाडौं, १२ वैशाख । सिंगापुरको टेमसेक फाउन्डेसनले नेपाल सरकारलाई दिएको स्वास्थ्य सामाग्री आज नेपाल आइपुगेको छ । टेमसेकले नेपाल सरकारलाई दिए पनि लकडाउनका कारण ती सामान सिंगापुरमै रोकिरहेका थिए ।
अनुदानका सामान ल्याउन विमान नै चार्टड गर्नु पर्ने अवस्था भएपछि नेपाल सरकारले वास्ता नगरि बसेको थियो । यो विषयमा नेपालका तीन जना व्यवसायीले चासो दिएर श्री एयरलाइन्सको विमान चार्टड गरि सामान भित्राएका हुन् । टेमसेक फाउन्डेसनले १० हजार थान पिसिआर परीक्षण किट नेपाल सरकारलाई दिएको थियो । जुन कोरोना भाइरस परीक्षणका लागि अति आवश्यक छ । यो सामान नेपालमा सकिनै लागेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका थियो ।
व्यवसायीहरुले सामान ल्याउने व्यवस्था मिलाएपछि सरकारका प्रतिनिधि र विपद् व्यवस्थान केन्द्रका प्रतिनिधि पनि सोही विमानमा सिंगापुर गएका थिए । विमान चार्टडका लागि व्यवसायीहरु शेखर गोल्छा, पशुपति मुरारका र श्री एयरलाइन्सका सुधीर मित्तलले खर्च व्यहोरेको जनाइएको छ । उनीहरुले १५ दिनको निरन्तर प्रयासपछि सिंगापुरबाट नेपाल सामान ल्याउन सफल भएको जनाएका छन् ।