जनकपुरमा पहिलो कोरोना संक्रमित १४ वर्षको किशोर, संक्रमितको संख्या ४७

काठमाडौं, ११ वैशाख । नेपालमा फेरि थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा आज थप दुई जनामा कोरोना पुष्टि भएको बताइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनकपुरका १४ वर्षका किशोर र उदयपुरका ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरबाट संकलित नमूना परीक्षण गर्दा ती महिलामा र जनकपुर प्रादेशिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सर्लाही धकौल गाउँपालिकाकाका १४ वर्षका किशोरमा कोरोना पुष्टि भएको उनले बताए ।
यसैबीच काठमाडौं पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टका दुई जना कोरोना संक्रमित आज डिस्चार्ज भएका छन् । बेलायतबाट फर्किएका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पातलामा उपचार भइरहेको थियो ।