बुटवलमा ६ हजार बालबालिकालाई खोप लगाइँदै
पिपिई लगाएर खटिए स्वास्थ्यकर्मी

रुपन्देही, ११ वैशाख । बुटवल उपमहानगरपालिकाले सुरक्षित खोप कार्यक्रम सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवाअवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पिपिई लगाएर काममा खटाएको हो ।
बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न लकडाउनपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीविरुद्ध पूर्वतयारीसँगै थप सुरक्षाको उचित प्रबन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रीम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् । यी सबै निःशुल्क छन् र गुणस्तरयुक्त पनि ।
बुटवलमै खोप भण्डारण केन्द्र सञ्चालन गरेको उपमहानगरपालिकाले बाल स्वास्थ्यलाई हेक्का राख्दै पिपिईलगाएका स्वास्थ्यकर्मीमार्फत खोप कार्यक्रम सुरु गरेपछि यसको प्रशंसा भएको छ । खोपको सुरक्षित कार्यक्रम सञ्चालन गर्न उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्र र स्वास्थ्य चौकीमा पिपिईसहितका स्वास्थ्यकर्मीहरू पालो बाँडेर खटिएका छन् ।
उनीहरुलाई प्रमुख शिवराज सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्र्याइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न आग्रह निर्देशन दिएका छन् । उपमहानगरमा रहेका र पिपिई लगाउँदै खोप कार्यक्रममा जुट्ने स्वास्थकर्मीहरूलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए । विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बिसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला बुटवलले नियमित सुरुआत गरेर सकारात्मक कामको थालनी गरेको छ ।
‘रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रवन्ध मिलाएर भएपनि सुचारु गर्नुपर्छ भनेर लागेका हौं’ प्रमुख सुवेदीको भनाइ छ । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ ।
जन्मिने वित्तिकै लगाउनुपर्ने बीसीजी देखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा बैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ वैशाखसम्म सञ्चालन हुने गरि कार्यक्रम सुरु गरिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए । यी स्थानमा खटिने प्राविधिक तथा प्रत्येक खोप सेसनमा जाने स्वास्थ्यकर्मीलाई पिपिईसहितका स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था मिलाइएको छ । पिपिई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरीकाले खोप लगाउनेगरि समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् ।
बिसिजी, पेन्टा, ओपिभी, एफआइपिभी, पिभिसी, एमआर तथा जेई र टिटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरू जन्मिएदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरू हाल बुटवलमा झण्डै ६ हजार रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।
बुटवलमा हाल वर्षभरिमा पाँच सय ५२ खोप सेसन सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बिसिजी खोप ११ हजार ४०, डीपीटी हेपबी हिब १२ हजार तीन सय ८०, एमआर ११ हजार छ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।
यस्ता छन् बालबालिकामा लगाइने नियमति खोप
- बीसीजी : यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । क्षयरोगका साथै भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धी संक्रमण र शरीरको प्रतिरोधी क्षमतालाई मजबूत बनाउँछ । महामारी फैलिएपछि विश्वमा नेपालले लगाइरहेको यहीँ खोपका बारेमा अहिले खुबै चर्चा भइरहेको छ ।
- डि.पि.टी, हेपाटाइटिस बी, एचआइभी : यो खोप ६, १० र १४ सातामा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यसले भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, हेमाफिलस बिबाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँछ ।
- पिभिसी : यो खोप जन्मिएको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा दिइन्छ । यो खोप तीन पटक दिइन्छ । यसले निमोनियाबाट बचाउँछ ।
- पोलियो : पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियो माईलाइटिसबाट जोगाउँछ ।
- दादुरा रुबेला : यो खोप जन्मिएको ९ महिना देखि एक वर्ष भित्रको उम्मेरमा दिइन्छ । यसले बालबालिकालाई दादुरा, रुबेलाबाट जोगाउँछ ।
- टीडी–टीटी : यो खोप गर्भवती महिलाहरुलाई दिइने गरिन्छ । यसले धनुष्टांकार र भ्यागुते रोगबाट बचाउँछ ।
- जे.ई : यो खोप १२ महिना देखि २३ महिना सम्मका बालबालिकालाई दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ ।