सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिन्छः मुख्यमन्त्री पोखरेल

रुपन्देही, ११ वैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वव्यापी महामारीलाई सबैले मिलेर मात्रै पराजीत गर्न सकिने बताएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे बुधबार बर्दियास्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखसंग एकीकृत भिडियो संवादका क्रममा उनले यस्तो बताएका हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्रीद्वारा गरिएको यो आठौं भिडियो संवाद हो ।
सर्वपक्षीय भिडियो संवादमा बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम खनाल, बर्दिया जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु, नेपाल कम्युनिष्ट पार्टी नेकपा बर्दिया इञ्चार्ज लक्ष्मण ज्ञवाली, नेपाली कांग्रेस जिल्ला सभापति सञ्जय गौतम र नेकपा बर्दियाका अध्यक्ष भुवन थारु सहभागी भएका थिए ।
भिडियो संवादमा सहभागीहरुबाट बर्दियामा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका काम र आगामी दिनमा गर्नुपर्ने कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताए ।
उनले सीमा क्षेत्रमा सुरक्षाकर्मिकोे संख्या थपेर कडाई गरिएको जानकारी दिदै पहिलो चरणमा स्वास्थ्य सामग्री पठाइएको अब उपलब्ध गराउँदे जाने बताए । उनले चिकित्सकसहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मि उच्च मनोबलका साथ काममा खट्न प्रेरित गर्न आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिए । उनले स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन रक पठाएको र जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम पठाउने आज निर्णय गरेको जानकारी दिए ।
उनले राहत संकलन र प्रदान एकद्दार प्रणालीबाट अघि बढाउन आग्रह गरे । सामाजिक दुरी कायम गरी स्थानीय श्रमलाई प्रयोग गरी गर्न सकिने विकास निर्माणका काम अघि बढाउन उनले निर्देशन दिए ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसीयूसहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रबन्ध भएको उनले जानकारी दिए ।
कोरोनाविरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट सम्भव भएको बताउँदै उनले बर्दियामा सामुदायिक क्वारेन्टाइन बनाउन थालिएको विषय प्रशंसनीय भएको बताए ।
भिडियो संवादमा सहभागीहरुले ¥यापिड टेस्टको संख्या बढाउन, स्वास्थ्य सामग्रीको आपूर्ति बढाउन, स्वास्थ्य संस्थाहरुलाई सबल र सक्षम बनाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।