भरतपुर अस्पतालको नर्सिङ कक्षा अब अनलाइनबाटै

चितवन, ११ वैशाख । भरतपुर अस्पताल नर्सिङ कलेजले विद्यार्थीलाई अब अनलाइनबाट पढाउने भएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नियमित रूपमा कक्षा सञ्चालन हुन नसकेपछि कलेजले अब अनलाइनबाटै पढाउने भएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट प्राप्त पत्र र कलेजको नर्सिङ संकायको मंगलबार बसेको बैठकले बिहिबारबाट अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको नर्सिङ कार्यक्रम संयोजक मिना कुमारी भुसालले हाम्रो डक्टर न्युजलाई जानकारी दिइन् ।
अहिले विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आवश्यक एप्लिकेसन डाउनलोड गर्न लगाइ त्यसबारे प्रशिक्षण दिएको उनले बताइन् । यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे छलफल भैरहेको समेत उनले जानकारी दिइन् ।
केहीदिन परीक्षण कक्षा सञ्चालनगरि आइतबारदेखि नियमित रूपमा कक्षा सञ्चालनमा ल्याउने योजना रहेको छ । सबैलाई अनुकुल हुने समय निर्धारण गरि दिनमा ३ घण्टासम्म कक्षा सञ्चालन गरिने संयोजक भुसालले बताइन् ।
यसरी सञ्चालन गर्न लागेको अनलाइन कक्षा फलदायी हुने कलेजले विश्वास लिएको छ ।
कलेजमा तिन वर्षे नर्सिङ कार्यक्रम अन्तर्गत स्नातक तह बीएनएस र प्रविणता प्रमाणपत्र तह पिसिएल नर्सिङ सञ्चालनमा रहेको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।