कोरोना संक्रमित सात जना घर फर्किए, अन्यको स्वास्थ्य सामान्य

काठमाडौं, १० वैशाख । नेपालका ४५ कोरोना संक्रमितमध्ये सात जना स्वस्थ भइ घर फर्किएका छन् । कोरोना संक्रमित भएका धादिंङका ३२ वर्षीय पुरुष बुधवार टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । २९ दिनसम्म अस्पतालमा उपचार गराएका ती पुरुषको अन्तिम रिर्पोटमा कोरोना पुष्टि नभएपछि डिस्चार्ज गरिएको हो ।
यस्तै बुधवार नै सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषलाई पनि डिस्चार्ज गरिएको छ । १९ दिनसम्म कोरोनाको उपचार गराएका ती पुरुषको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । यसअघि मंगलवार पनि सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका थिए । धनगढी उप–महानगरपालिका–५ का ३४ वर्षीय युवकको लगातार दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।सेती प्रादेशीक अस्पतालमा उपचाररत २१ वर्षीय युवक पनि कोरोनालाई जित्दै ७ वैशाखमा घर फर्किएका थिए । १६ दिनमा कोरोनालाई जितेर डिस्चार्ज भएका थिए ।
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि कोरोना भाइरसलाई जित्दै घर फर्किसकेका छिन् । तीन साता लामो बसाइपछि उनलाई ६ वैशाखमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । ६ वैशाखमै टेकुस्थित सरुवा रोग अस्पतालबाट १९ वर्षीया युवतीलाई पनि डिस्चार्ज गरिएको थियो । कोरोनालाई जित्दै उनलाई २७ दिनपछि डिस्चार्ज गरिएको थियो । युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत पहिलो साता त्रिभुवन विमानस्थलहुँदै नेपाल आएको बताइएको थियो ।
यस्तै नेपालको पहिलो कोरोना संक्रमित २३ माघमा स्वास्थ भएर घर फर्किएका थिए । उनी नेपालको पहिलो कोरोना संक्रमित र उपचारपछि पहिले घर फर्किने व्यक्ति हुन् । नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगञ्जका ३२ वर्षीय युवक चीनको वुहान युनिभर्सिटीमा पीएचडी गर्दै थिए । वुहानमा कोरोना संक्रमण फैलिएपछि उनी नेपाल फर्किएका थिए । त्यसपछि स्वास्थ्यमा असहज भएर जाँच गराउँदा १० माघमा उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि अस्पतालमै उपचार गराएका उनलाई ३ माघमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
हाल ३८ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् र उनीहरुको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।