कञ्चनपुरका कोरोना संक्रमित पुरुषको तेस्रो रिपोर्ट पनि नेगेटिभ

धनगढी, १० वैशाख । सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको एउटा रिपोर्ट नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो ।
उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो । अर्को परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ देखाए अस्पतालबाठ डिस्चार्ज गरिने प्रादेशिक अस्पतालले जनाएको छ ।
यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ । उनीहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको छ ।
अहिले कञ्चनपुरका ४१ वर्षीय पुरुषसँगै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ वर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको पनि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।