कोविड-१९ का लागि गरिने ३ जाँच, नेपालको परीक्षण सही या गलत ?

काठमाडौं, ८ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ लाई मुलुकमा फैलिन नदिन अहिले तीव्र गतिमा नमूना संकलन र परीक्षणको काम भइरहेको छ ।
नेपालमा मात्रै नभई विश्व कै विभिन्न मुलुकमा कोरोना परीक्षणको दायरा बढाएर जाँचलाई तीव्रता दिइएको छ । जसले गर्दा संक्रमित व्यक्तिको बारेमा पत्ता लगाउन सकियो भने कोरोनाको महामारीलाई रोक्न वा जोखिम कम गर्न सकिन्छ । जसका लागि विश्वभर नै दुई वटा विधिबाट कोरोनाको जाँच हुँदैछ ।
पहिलो विधि भनेको थ्रोट स्वाब अर्थात् नाक वा घाँटीबाट र्याल, खकार निकालेर रियल टाइम पीसीआरबाट कोरोना भाइरस भए नभएको पत्ता लगाइन्छ । रियल टाइम पीसीआरमा भाइरस भए नभएको पुष्टि गरिन्छ । किनकी कोरोनाले मानिसको घाँटी हुँदै शरीरमा प्रवेश गर्ने हुनाले यो विधिबाट नमूना जाँच भइरहेको छ । अर्को विधि भनेको र्यापिड डाइग्नोस्टिक टेस्ट । जसमा मानिसको शरीरमा भाइरसको कारणले उत्पन्न भएको प्रोटिन (एन्टीबडी) भए नभएको कुरा रगतबाट पत्ता लगाउन सकिन्छ । थ्रोट स्वाबबाट कोरोना पत्ता लगाउन लगभग ४ देखि ६ घन्टा लाग्छ भने भने र्यापिड डाइग्नोस्टिक विधिबाट गरिएको जाँचको नतिजा १० देखि १५ मिनेटमै आउने गर्छ ।
पुष्पराज खनाल, रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद
प्रयोगशाला विज्ञ एवं नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिस्ट्रार पुष्पराज खनालका अनुसार कोरोना संक्रमण भए नभएको पत्ता लगाउन दुबै विधि गर्नु राम्रो नै हो । यदि स्वाब परीक्षणमा कोरोना देखिएको छ भने उसमा कोरोना प्रवेश गरिसकेको बुझिन्छ र उसलाई उपचारको आवश्यक्ता हुन्छ ।
यस्तै यदि र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो भने केहि समयका लागि उसमा कोरोना सक्रिय हुन सक्ने हुन्छ भने त्यहि नमूना स्वाबमापनि पोजेटिभ भयो भने उसमा कोरोना भाइरस सक्रिय भइसकेको बुझिन्छ । त्यसकारण नेपालमा यदि र्या्पिडमा कोरोना पोजेटिभ छ भने थप पुष्टि गर्नका लागि स्वाब परीक्षण गर्नु राम्रो कै लागि हो ।
यसमा ३ वटा चरण हुन्छ । पहिलो चरणमा सुरुको हप्तामा सिधै भाइरस हुने हुनाले थ्रोट स्वाबबाट परीक्षण गर्दा रियल टाइम पीसीआर पोजेटिभ हुन्छ । दोस्रो चरणमा दोस्रोदेखि ४ औं हप्तासम्म मानिसको शरीरमा भाइरसका साथसाथै एन्टीबडिपनि हुन्छ । त्यसैले आरडीटी र पीसीआर दुबै पोजेटिभ हुन्छ । तेस्रो चरणमा चौथो हप्तापछि मानिसको शरीरमा भाइरस हुँदैन मात्रै एन्टीबडी हुन्छ र त्यो अवस्थामा आरडीटी पोजेटिभ आउँछ । तर, यो मानिस पिच्छे फरक हुन्छ । कारण सबै मानिसको एक समान रोग प्रतिरोधात्मक क्षमता हुँदैन । त्यसकारण नेपालमा अहिले आरडीटीबाट कोरोनाको एन्टीबडी परीक्षण गरिएको हो । यस्तो बेलामा मानिसमा कोरोनाको लक्षण नदेखिनपनि सक्छ ।
खनाल भन्छन्, ‘पछिल्लो समय धेरै नै यो विषयम बहस भएको छ । किन र्यापिडमा पोजेटिभ देखिएको नमूनमा स्वाबमा नेगेटिभ देखाउँछ ? किन र्यापिडमा नेगेटिभ देखिएको नमूना स्वाबमा पोजेटिभ देखाउँछ ? किन सरकारले दुबै माध्यमबाट नमूना परीक्षण गरिहेको छ ? के नेपालमा भइरहेको कोरोना परीक्षण सहि हो त ? यस्ता अनेक प्रश्न सरकारतिर तर्सिएको छ । तर, यसमा ढुक्क हुनुस कि सरकारले गरेको परीक्षण विश्वव्यापी मान्यता अनुसार नै भइरहेको छ ।’
हाल नेपालमा प्रयोग भइरहेको र्यापिड टेस्टले एन्टीबडी मात्रै टेस्ट गर्ने काम गरिरहेको छ । किनभने नेपालमा एन्टीजेन जाँच्ने किटको उपलब्धता छैन । एन्टीजेन भने भाइरसको संक्रमण भएकै कुरा पत्ता लगाउनु हो ।
र्यापिड टेस्ट गर्नु भनेको रोग फैलिएको छ छैन भनेर पत्ता लगाउनु हो । जुन धेरै संख्यामा गरिन्छ । यसमा रोग भए नभएको पुष्टि गरिँदैन । रोग भए नभएको वा भाइरस भए नभएको पुष्टिका लागि पीसीआर विधि नै प्रयोग गरिँदैछ भन्दै खनालले जति धेरै मात्रामा र्यापिड टेस्ट गरिन्छ त्यति नै धेरै रोगको संक्रमण भए नभएको पत्ता लगाउन सकिने र महामारीको जोखिमबाट जोगिन सकिने बताए । उनले अहिले भारत, अमेरिका, बेलायत लगायतका विभिन्न मुलुकमा र्यापिड टेस्ट गरिएकोमा जाँचको दायरा फराकिलो बनाएर रोग नियन्त्रणको प्रयास भइरहेको पनि स्पष्ट पारे ।
किन आउँछ फरक नतिजा ?
र्यापिड टेस्ट पोजेटिभ र पीसीआर नेगेटिभः यो अवस्थामा भाइरसको सक्रियता कम भएको हुन्छ र हाम्रो शरीरको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । भ्याक्सिन लगाएको अवस्थामा वा केहि पहिले संक्रमण भएमा यो अवस्था देखिन सक्छ । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्ने सम्भावना निकै कम हुन्छ ।
र्यापिड टेस्ट नेगेटिभ र पीसीआर पोजेटिभः यो अवस्थामा पनि भाइरस शरीरमा सक्रिय रहेको हुन्छ र यो रोगको सुरुवाती चरण हो जसमा हाम्रो शरीरले एन्टीबडी यथेस्ट मात्रामा बनाइसकेको हुँदैन । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्छन् ।
अर्को प्रसंग
विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको र्यापिड डाइग्नोस्टिक टेस्ट किन गरिँदैछ ? भन्ने प्रश्नले अहिले विभिन्न सञ्चार माध्यम र सामाजीक सञ्जाललाई तताइरहेको छ । यो प्रश्नमा खनाल भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको भए कसरी सारा संसारले यो किट प्रयोग गरिरहेको छ ? हो डब्लूएचओले र्यापिड डाइग्नोस्टिक टेस्ट किटका लागि केहि तोकिएका कम्पनीलाई मात्रै मान्यता दिएको छ । सिमित मुलुकका सिमित कम्पनीले उत्पादन गरेका र्यापिड किटबाट कोरोनाको नमूना परीक्षण गर्न सकिन्छ । र त्यो नै विश्वव्यापी रुपमा भइरहेको छ ।’
नेपालको सन्दर्भमा सरकारले र्यापिड टेस्टबाट कोरोना परीक्षणको दायरालाई बढाएर राम्रो गरेको भन्दै खनालले यसरी तीव्र गतिमा यदि कोरोना परीक्षण भयो भने नेपालमा पनि कोरोना संक्रमितको संख्या पत्ता लगाएर त्यसलाई समयमै रोक्न र उपचार गर्दा मानिसको मृत्यु हुनबाट जोगाउन सकिने उल्लेख गरे ।
उनले अहिले नेपाल सरकारले प्रयोग गरिरहेको रयापिड टेस्ट एन्टीबडीमा आधारित किट भएको र विश्वव्यापी मान्यता अनुसार नै भइरहेको पनि बताए ।
समग्रमा हेर्ने हो भने विश्वव्यापी रुपमा नै कोरोना परीक्षणका लागि ३ वटा विधि प्रयोगमा छन् । पीसीआर, जसले मानिसमा कोरोना भाइरसको वंशाणुलाई नै पत्ता लगाउने काम गर्छ भने आरडीटीले कोरोनाको संक्रमण कहाँसम्म फैलियो भन्ने पत्ता लगाउने काम मात्रै गर्छ र आरडीटी एन्टीजेन जसले कोरोना भाइरस मानिसमा भए नभएको पुष्टि गर्छ । यो ३ वटै विधि नेपालमापनि सुरु भयो भने धेरै हदसम्म कोरोनाको महामारीबाट र जोखिमबाट बचाउन मद्दत गर्छ ।
यसबैची कोरोना भएकै भन्ने कुरा पत्ता लगाउन पीसीआरका साथै एन्टीजेन विधिको प्रयोगका लागि सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विज्ञसहित भएको छलफलमा सहभागि सदस्य खनालले एन्टीजेन किटको प्रयोग नेपालमा भयो भने पीसीआरका साथसाथै यो किटलेपनि भाइरस भए नभएको पुष्टि गर्न सकिने भएकाले त्यसको लागि सरकारलाई सुझाव दिइएको बताए ।
उनले भने, ‘अहिले नेपालमा भइरहेको कोरोना परीक्षणको जाँचको प्रोटोकल सहि छ । तर, अब विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त आरडीटी एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्नुपर्छ । त्यसका लागि सरकारलाई सुझाव दिइएको छ ।’
साथै जीन सिक्वेन्स अर्थात् नेपालमा फैलिरहेको कोरोनामा लक्षण नदेखिने नयाँ कुरा भएकाले यो भाइरस कसरी कुन तरिकाले मानिसमा फैलिरहेको छ त्यो पत्ता लगाउने कुरामा सरकारले गरेको प्रयासको विषयमा पनि प्रष्ट पार्न सुझाव दिइएको उनले बताए ।