कैलालीका कोरोना संक्रमित युवालाई डिस्चार्ज गर्ने तयारी

धनगढी, ७ वैशाख । कैलालीका कोरोना संक्रमित एक युवालाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको छ । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पतालमा उपचाररत थिए । उनको पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ आएपछि घर पठाउन लागिएको हो ।
भारतबाट आएका उनलाई २२ चैतमा कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए। अब सेतीमा चार जना संक्रमितको उपचार भईरहेको छ। अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो। धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीया महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो।
डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए। सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोना संक्रमितको सङख्या यथावत छ।