नेपालमा कोविड-१९ का संक्रमितको संख्या ३०, २ जना घर फर्किए

काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना संक्रमितमध्ये २ जना घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा कोरोना संक्रमित ३० जनामध्ये २ जना स्वस्थ भएर घर फर्किएका हुन् ।
दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवति शनिवार उपचारपछि घर फर्किएकी हुन् । २७ दिनसम्म टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत युवतीको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
यसअघि चीनको वुहानबाट आएका पहिलो कोरोना संक्रमित युवकपनि उपचारपछि घर फर्किसकेका छन् ।
डा.देवकोटाले नेपालका ७७ वटै जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको पनि जानकारी गराए ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रवार भेटिएका १४ जना कोरोना पोजेटिभहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम सुरु भइसकेको बताए । उनले चाँडै नै सबैको कन्ट्र्याक्ट ट्रेसिङको काम सकिने र उनीहरुको पनि नमूना परीक्षण गरिने बताए ।
यस्तै लकडाउनको बेला घरमा बस्ने बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा समस्या आउने भएकाले त्यसतर्फ अभिभावकले बिशेष ध्यान दिनुपर्नेपनि उनले सुझाए ।