डा. शेरबहादुर पुनलाई चिठी काटिएकाे हाे, कार्वाही हाेइन: स्वास्थ्य मन्त्रालय



Download our app to get more features

काठमाडौं, ६ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सचिवालयले कुनैपनि चिकित्सकमाथि कुनै कारबाही नगरिएको दावी गरेको छ ।

सामाजीक सञ्जाल र विभिन्न सञ्चार माध्यममा टेकुस्थित सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनलाई मन्त्रालय र मन्त्रीले नै कारबाही गरेको भन्दै खबर आएपनि सचिवालयले यो विषयमा फरक सूचना दिएकाे हो ।

स्वास्थ्यमन्त्रीका प्रेस  सल्लाहकार माधव तिवारीले मन्त्रीको तर्फबाट डा.पुनलाई कुनैपनि स्पष्टिकरण नसोधिएको र कुनै कारबाही नगरिएको बताए । हाम्रो डाक्टरन्यूजसँगको कुराकानीमा उनले सरुवा रोग अस्पतालका वरिष्ठ डा. शेरबहादुर पुनलाई स्वास्थ्यमन्त्रीले नै कारबाही गरेको भन्ने कुरा गलत भएको दावी गरेका छन् ।

उनले भने, ‘महामारीको यो विषम परिस्थितिमा मन्त्रीज्यूले चिकित्सकमात्रै नभई सम्पूर्ण स्वास्थ्यकर्मीलाई हौसला र प्रोत्साहन गनुपर्छ र गर्दै आउनुभएको छ । उहाँले कुनै कारबाही र स्पष्टिकरण सोध्नुभएको छैन ।’

यस विषयमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पनि आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

यता मन्त्रालयका सहसचिव रघुराम विष्टले भने डा.पुनलाई चिठी मात्रै काटेको बताएका छन् । हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै उनले विभिन्न सञ्चार माध्यममा कोरोनाको विषयमा दिएको अन्तर्वाता, लेख लगायतका विषयमा मन्त्रालयबाट पत्र काटेर डा.पुनलाई सोध्न मात्र मन्त्रालय बोलाइएको बताए ।

उनले भने, ‘मन्त्रालय मातहतका कर्मचारीलाई मन्त्रालयले पत्र काट्नै नहुने हो र ? स्वास्थ्यकर्मीलाई केहि सोध्नलाई पत्र काटियो भन्दैमा इस्यू बन्दो रैछ । डा.पुनलाई ३÷४ पटक फोन गरेर बोलायौ, आउनुभएन त्यहि भएर औपचारिक रुपमै पत्र काटेका हौं ।’

Last modified on 2020-04-18 12:22:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts