विदेशबाट फर्किएका चितवनका आमा-छोरामा बिना लक्षण कोरोना संक्रमण देखियो

चितवन ५ वैशाख । लक्षण बिना नै चितवनको राप्ति नगरपालिका निवासी दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा कोरोना आशंका गरिएको थियो । पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा शुक्रबार दुवै जनामा कोरोना पोजिटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
चैत ३ गते लण्डनबाट हङकङ हुदै नेपाल आएकी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा कोरोना पोजिटिभ देखिएको उनले बताए । यसअघि भरतपुर १० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको ल्याबमा स्वाब परीक्षणमा दुई जनामा कोरोना पोजेटिभ देखिए पनि पहिलो पटक भएकाले त्यसलाई शंकास्पद मानी थप पुष्टिको लागि काठमाडौं पठाइएको उनले बताए ।
उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । विदेशबाट फर्किएका उनीहरूमा कोरोनाको लक्षण नदेखिएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए ।
ती मध्ये महिलाको बुधबार गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले बताएका थिए ।
यसअघि पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा ती युवासहित २८ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
चितवनमा कोरोना पोजेटिभ देखिएसँगै उच्च सतर्कता अपनाइएको छ । आइसोलेसन वार्डमा सीसीटीभी, टेलिफोन र इन्टरनेटको सुविधा रहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै उपचारलाई थप प्रभावकारी बनाउने उद्देश्यले सो सुविधा राखिएको उनले बताए ।
‘स्वास्थ्यकर्मीले छुट्टै बसेर सीसीटीभीको माध्यमबाट बिरामीको निरन्तर निगरानी गर्नुहुनेछ र टेलिफोनको माध्यमबाट बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुनेछ ।’ मेसु डा. तिवारीले भने, ‘अनि समय समयमा सबै शरीर ढाक्ने सुरक्षित पोशाक सहित चिकित्सक र अन्य स्वास्थ्यकर्मीले बिरामीको हेरचाह गर्नुहुनेछ ।’ यसले उपचारमा संलग्न स्वास्थ्यकर्मी र बिरामी दुबैलाई फाइदा पुग्ने उनले बताए ।
इन्टरनेटको माध्यमबाट स्वास्थ्यकर्मीले विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणको अवस्था र उपचार विधिबारे नयाँ अपडेट लिनेछन् । यसले विरामीलाई आफ्नो स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्नेबारे थाहा पाउन सहयोग पुग्ने छ । इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल मार्फत आफ्नो आफन्तसँग संम्पर्क गर्न पाउने हुँदा उनिहरूमा एक्लोपनको महसुस नहुने अस्पतालका मेसु डा. श्रीराम तिवारीको विश्वास छ ।
राप्ति नगरपालिका निवासी दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै चितवनमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।