सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या स्थिर, सात हजार दुई सयभन्दा बढीको परीक्षण

धनगढी, ५ वैशाख । सुदूरपश्चिमबाट संकलन गरिएका सात हजार दुई सयभन्दा बढी नमूनाको पीसीआर र र्यापिड टेस्ट विधिमार्फत् कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार शुक्रवारसम्म पीसीआर प्रविधिबाट दुई हजार चार सय २८ र र्यापिड टेस्टमार्फत् चार हजार ८ सयको गरी कुल सात हजार दुई सय २८ जनाको कोरोना परीक्षण गरिएको हो ।
र्यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । सुदूरपश्चिममा पछिल्लो पाँच दिन यता कोरोना संक्रमितको सङख्या यथावत छ । सात हजार तीन सय ६७ जनाको नमूना संकलन गरिएकोमा अझै एक सय ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ ।
शुक्रवार मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि थप ६ सय ७४ र र्यापिड टेस्टमार्फत चार सय ६७ जनाको नमूना परीक्षण गरिएको छ । सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी प्रदेशको राजधानी कैलालीमा दुई हजार ६ सय १४ जनाको र्यापिड टेस्ट गरिएको छ ।
यस्तै कञ्चनपुरमा ४ सय ६८, बैतडीमा एक सय ८७, दार्चुलामा एक सय दुई सय १८, डडेल्धुरामा ११, डोटीमा चार सय ५०, बझाङमा चार सय ८६, अछाममा दुई सय १२ र बाजुरामा एक सय ४४ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ ।
यस्तै र्यापिड टेस्ट किट सकिएपछि संघीय सरकारले सुदूरपश्चिमका लागि थप १० हजार टिक पठाएको छ । प्रदेशको सामाजिका विकास मन्त्रलाय मातहतको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले संघीय सरकारले थप १० हजार किट पठाएको बताए । उनका अनुसार यसअघि ५ हजार किट पठाईएकोमा चार हजार ८ सयको परीक्षण भईसकेको छ ।
यस्तै अहिलेसम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रदेशका विभिन्न अस्पतालमा १० जनालाई आईसोलेसमा राखिएको छ ।
जसमा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ५ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा डोटी बाहेक अन्य आठ जिल्लामा नौ सय ४९ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।