चितवनमा स्वाब परीक्षण गर्दा २ जनामा कोरोनाकाे शंका , पुनः परीक्षणका लागि काठमाडौँ पठाइयो

चितवन, ५ वैशाख । चितवनको भरतपुर कोभिड १९ प्रयोगशालामा स्वाब परीक्षण गरिएका दुई जनामा कोरोना आशंका गरिएको छ ।
भरतपुर १० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना ल्याबमा स्वाब परीक्षणमा दुई जनामा कोरोना शंकास्पद देखिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । दुवै जनाको पुनः स्वाब परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको उनले बताए ।
बिहीबार ३६ जनाको परीक्षण गरिएकोमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको थियो । ती मध्ये ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र राप्ति नगरपालिका निवासी दुई जनामा कोरोना शंकास्पद देखिएको पौडेलले बताए । उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरू विदेशबाट फर्किएका बताइएको छ ।
ती मध्ये राप्ती नगरपालिका निवासी एक महिलाको बुधबार गरिएको र्यापिड टेस्टमा शंकास्पद देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले बताए ।
यसअघि पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा एक जना युवामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा ती युवासहित २८ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
चितवनमा गत २४ चैतदेखि औपचारिक रुपमा कोरोना परीक्षण सुरु भएको भए पनि अहिलेसम्म कसैमा कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले पुष्टि गरेको छैन ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।