कोरोना नियन्त्रणका लागि दीर्घकालिन योजना आवश्यक: मन्त्री बराल

रुपन्देही, ४ वैशाख । प्रदेश ५ का सामाजीक विकासमन्त्री सुदर्शन बरालले कोरोना नियन्त्रणका लागि दीर्घकालिन योजना आवश्यक रहेको बताएका छन् ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रदेश नं. ५ का जिल्लाहरुको स्थलगत अध्ययन गरी फर्किएका संघीय सरकारले खटाएको प्रतिनिधीहरुसँग सामाजिक विकास मन्त्रालयमा छलफल गर्ने क्रममा उनले यस्तो बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटि आएका डा रमेश खरेलले जिल्लाका अस्पतालहरुको अवस्थाको विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए ।
छलफलमा मन्त्री बरालले कोरोना भाइरस नियन्त्रणको लागि दीर्घकालिन योजना बनाएर जानु पर्ने भन्दै संघीय सरकारले त्यसको संयोजन तथा सहजीकरण गर्नु पर्ने बताए ।
क्रिटिकल केयरको लागि पहिलो चरणमा ४ वटा कोरोना स्पेशल अस्पताल स्थापना गरिएको तथा दोस्रो चरणमा प्रादेशिक अस्पतालहरु र तेस्रो चरणमा प्रदेशका मेडिकल कलेजका अस्पतालहरुलाई डेडिकेटेड अस्पतालको रुपमा रुपान्तरण गर्न तयारी गरिएको मन्त्री बरालले बताए ।
मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले संघीय सरकारले रकम पठाएपनि खर्च गर्न नसकिने अवस्थामा रहेको बताए । विशेष परिस्थितिमा खरिद सम्बन्धी ऐनमा केही सहजीकरण गर्न पर्ने आवश्यकता औल्याउँदै खनालले संघिय सरकारले विशेष परिस्थितीमा केही सरलीकृत गरिदिनु पर्ने बताए ।
उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी, प्रदेश आपूर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाईं, प्रदेश स्वास्थ्य तालिमकेन्द्रका निर्देशक महेश्वर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।