निजी अस्पतालमा पनि अब कोरोनाको परीक्षण हुने

काठमाडौं, ४ वैशाख । सरकारले निजी अस्पतालमा पनि र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने भएको छ ।
द्रुत गतिमा कोरोनाको नमूना परीक्षणका लागि सरकारले आरडीटि विधिबाट जाँच सुरु गर्नका लागि निजी र सरकारी दुबै अस्पतालका प्रयोगशालामा कार्यरत कर्मचारीलाई अभिमुखिकरण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले कोरोना परीक्षणको दायरा बढाउनका लागि निजी अस्पतालमा पनि कोरोना परीक्षणका लागि अभिमुखिकरण गरिएको बताए ।
यस्तै सरकारले तयार पारेको कोविड १९ अन्तरनिर्देशिका अन्तर्गत काठमाडौं उपत्यकाका १६ वटा निजी अस्पताललाई पनि कोरोनाका लागि तोकेको छ ।
प्रवक्ता डा.देवकोटाले वीरगञ्जको छपकैयामा कोरोना संक्रमित भेटिएपछि त्यहाँका झन्डै ४ सय जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरेको र सबैको नतिजा नेगेटिभ देखिएको बताए ।
उनले कोरोनाको विषयमा थप जानकारी लिन र काम गर्न सहज होस् भन्ने उदेश्यले अब हेर बिहीवार प्रादेशिक विपद व्यवस्थापन समितिसँग स्वास्थ्य मन्त्रालयले छलफल गर्ने तयारी भएको जानकारी गराए । यस्तै कोरोनाका लागि प्रदेशमा खटिएका ११ औं तहका कर्मचारीसहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, स्वास्थ्य विज्ञ सम्मिलित टोलीसँगपनि नियमित छलफल गर्ने तयारी भएको पनि उनले बताए ।
साथै स्थानीय तहसँगको समन्वयलाई अझ प्रभापकारी बनाउन स्थानीय सरकारलाई आफ्नो तहमा भएका स्वास्थ्य संस्था, एम्बुलेन्स, कर्मचारी लगायतको अभिलेख राख्न भनिएको र विदेशबाट आएका व्यक्तिको पनि तथ्यांक संकलन गरि क्वारेन्टाइनमा बस्न लगाउन पनि भनिएको छ ।
डा. देवकोटाले हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मोबाइल एप र वेबसाइटमा लक्षणसहित नाम दर्ता गराएकामध्ये २ सय ४७ जना रेड जोनमा रहेको बताए ।