र्यापिड टेस्टमा पोजेटिभ देखिएका सप्तरीका दुबैमा पीसिआरमा कोरोना नभएको पुष्टि

सप्तरी, ४ वैशाख । सप्तरीका दुई जनामा स्वाब परीक्षणबाट कोरोना नभएको पुष्टि भएको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्टमा पोजेटिभ देखिएपनि स्वाब परीक्षणमा कोरोना पुष्टि नभएको बताइएको छ ।
सप्तरीको तिलाठी कोइलाडी र खडक नगरपालिकाका गरि दुई जना पुरुषमा आरडिटीमा कोरोना पोजेटिभ देखिएको थियो ।
दुबै जनामा कोरोना देखिएपछि उनीहरुको स्वाब परीक्षणका लागि धरान पठाइएकोमा कोरोना नभएको पुष्टि भएको गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालका प्रमुख डा. चुमन लाल दासले हाम्रो डाक्टर न्यूजलाई जानकारी गराए ।
उनले दिल्लीको जमातबाट फर्केका ती दुवैमा र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपछि थप पुष्टिका लागि धरानस्थि प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको र बुधवार अबेर साँझ आएको नतिजामा कोरोना नभएको पुष्टि भएको बताए ।
दुवै जनाको परिवारका सदस्यको आज र््यापिड टेस्ट गर्न लागिएको पनि उनले जनकारी दिए ।
यस्तै, पोखराकी एक जना महिलामा पनि कोरोना नभएको पुष्टि भएको छ ।
र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएकी ती महिलाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबार आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा (१२, ढिकालेथरकी महिलामा एन्टिबडी पोजेटिभ देखिएकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।