उपकरण र जनशक्ति अभावका कारण भैरहवा र नेपालगञ्जमा नयाँ पिसिआर मेशिन सञ्चालनमा ढिलाई



Download our app to get more features

रुपन्देही, ४ वैशाख । प्रदेश नं. पाँचमा स्वाबबाट कोरोन नमूना जाँच गर्ने भनिएपनि मेशिन अझै सञ्चालन हुन सकेको छैन ।

प्रदेश ५ सरकारले आरटी पिसिआर मेशिनबाट कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब परीक्षणको दायरालाई फराकिलो पार्ने भनेपनि मेसिनलाई चाहिने आवश्यक सामाग्री र जडान गर्ने इन्जिनियरको अभावका कारण मेशिन सञ्चालनमा ढिलाई भएको हो ।

भैरहवामा रहेको कोरोना भाइरस (कोभिड १९) को थ्रोट स्वाब परीक्षणको दायरा बढाउन नसकिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

आरटी पिसिआर मेसिन सञ्चालनमा आए मेशिनको क्षमता हेरेर दैनिक ७० देखि ९० सम्म नमूना परीक्षण गर्न सकिनेछ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा यो मेशिनलाई स्वाब लिने सामग्री (भिटिएम) र मेसिन जडान गर्ने इन्जिनियरको अभाव हुँदा कठिनाई भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा.राजेन्द्र कुमार गिरीले बताए ।

प्रदेश ५ मा अहिलेसम्म २ सय २ जनाको मात्रै स्वाब परिक्षण गरिएको छ भने भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ९५ जनाको थ्रोट स्वाब परक्ष्ीाण गरिएकोमा ९१ जनाको रिपोर्ट नेगेटिभ आएको र ४ जनाको परीक्षणको प्रकृयामा रहेको डा. गिरीले बताए ।

यो अवस्थाले कोरोना सतर्कताका लागि प्रदेशको टेस्टिङ्ग स्पीड तुलनात्मक रुपमा कम देखिन्छ । अहिले भैरहवाको राष्ट्रिय गहुँबाली परिसरभित्र रहेको विउविजन कार्यालयमा पोर्टेबल पिसिआर मेशिनबाट थ्रोटस्वाब परीक्षण हुँदैछ ।
 
डा. गिरीका अनुसार अहिले दैनिक १० देखि १२ वटा शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब परीक्षण भइरहेको छ । यो मेसिनको क्षमता दैनिक १५ देखि १६ वटासम्म क्षमता भनिएपनि आवश्यक जनशक्ति अभावका कारण पनि सोचेजति हुन नसकेको डा गिरीको भनाइ छ ।

उनले अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नियमित तीन जनाले दैनिक १६ घण्टासम्म सेवा दिइरहनु परेको र जनशक्ति थप गरेर अगाडी बढ्नका लागि पनि सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर जिल्लामा रहेका जनशक्तिहरुलाई परिचालन गर्ने कुरा भैरहेको बताए । 

आरटी पिसिआर मेशिनको उपलब्धता नहुँदा स्वाबको नमूना नै कम लिने गरिएको छ । आरटी पिसिआर मेशिनको अभावमा सोचे जसरी काम गर्न नसकिएको हो । प्रदेशभरीका स्वाबका स्याम्पलहरु भैरहवासम्म ल्याउनुपर्ने बाध्यता छ । त्यसैगरी प्रदेशमा थ्रोट स्वाबको नमूना संकलन गर्ने सामाग्री पर्याप्त मात्रामा नभएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

सरकारले क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको स्वाब परीक्षण पिसिआर मेशिनबाट गर्ने भनेपनि प्रदेश ५ मा अहिलेको अवस्थामा यो सम्भव देखिँदैन । त्यसका लागि नेपालगञ्ज र भैरहवामा रहेका पिसिआर मेसिन सञ्चालनमा ल्याउनै पर्ने देखिन्छ भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गर्ने भनिएको ल्याबका कामलाई पनि तीव्रता दिनुपर्ने देखिएको छ ।

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले ल्याबका सामग्री नहुँदा भैरहवा र नेपालगञ्जमा भएका नयाँ आरटी पिसिआर मेशिन सञ्चालन गर्न नसकेको बताए । सामग्री अभाव भयो । हतार हतार गरेर काम गर्न खोजेपनिआरटी पिसिआर मार्फत परीक्षण शुरु गर्न नसकिएको उनको भनाइ छ ।

प्रदेश पाँच स्वास्थ्य निर्देशनालय बुटवलका सूचना अधिकृत मन बहादुर वलीका अनुसार वैशाख ३ गतेसम्म दुई सय २९ जनाको थ्रोट स्वाब लिइएको भएपनि २ सय ११ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १८ जनाको रिपोर्ट आउने क्रममा छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश नं. पाँचका चार वटा कोरोना विशेष आइसोलेसन अस्पतालमा अहिले पनि २७ जना कोरोनाका शंकास्पद व्यक्तिहरुm भर्ना रहेका भएका छन् । अहिले प्रदेश ५ को क्वारेन्टाइनमा १ हजार ४ सय ८२ जना व्यक्तिहरु रहेका बताएका छन् ।

Last modified on 2020-04-16 07:47:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts