कोरोना भाइरस अपडेट : सनसिटी अपार्टमेन्टका तेस्रो व्यक्तिको रिर्पोट पुनः नेगेटिभ

काठमाडौं, ३ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हिजो मंगलबार पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा आरडिटी प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखाएको मध्ये एक जनाको रिर्पोट दोस्रो पटकको परीक्षणमा पनि नेगेटिभ आएको बताएका छन् । उनीहरुको हिजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआरमार्फत परीक्षण गरिए पनि दुई जनामा पेजेटिभ देखिएको र एक जनामा नेगेटिभ रिर्पोट आएको थियो । रिर्पोट नेगेटिभ आएको व्यक्तिको पुनः परीक्षण गर्दा पनि नेगेटिभ नै आएको हो ।
स्वास्थ्य मन्त्रालयद्वारा कोरोना भाइरसबारे जानकारी दिन आयोजित अपडेट कार्यक्रममा प्रवक्ता डा. देवकोटाले हालसम्म पिसिआर प्रविधिबाट ६ हजार आठ सय ७१ जनाको नमूना परीक्षण गरेको जानकारी दिए । यस्तै आठ हजार नौ सय २९ जनामा र्यापिट डाइग्नोष्टिक किटमार्फत टेष्ट गरिएको उनले बताए । हालसम्म कुल १५ हजार आठ सय परीक्षण पुरा भइसकेको छ ।
डा. देवकोटाका अनुसार गत २४ घण्टामा दुई हजार आठ सय ९४ जनाको परीक्षण गरिएको छ । सबै प्रदेशका सबै जसो जिल्लामा र्यापिड डाइग्नोष्टिक किटमार्फत परीक्षण सुरु भइसकेको छ । १४ वटा जिल्लामा मात्रै परीक्षण सुरु नभएको उनको भनाइ छ ।
यसरी गरिएको परीक्षणका क्रममा केही जिल्लाबाट कोरोना भाइरस पोजेटिभ रिर्पोट आएको छ । यस्तो नमूनालाई पिसिआर प्रविधिमार्फत पुनःपरीक्षण गरिदैछ । त्यसपछि मात्रै नतिजा सार्वजनिक गरिने उनले बताए । यसकाररण हालसम्म नेपालमा १७ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । एक जानको उपचार भइसकेको र १६ जना उपचाररत छन् । उनले देशभरका क्वारेन्टाइनमा पाँच हजार ६ सय १४ जना रहेको जनाकारी पनि दिए । उनीहरुको स्वास्थ्य परीक्षणपछि नेगेटिभ रिर्पोटलाई घर पठाइन थालिएको छ । यसकारण क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनहुँ घटिरहेको छ ।
यस्तै देशभरका विभिन्न अस्पतालमा एक सय १७ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्वास्थ्य संस्थामा ११ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने उपत्यका बाहिर १०६ जना छन् । कल सेन्टरमा गत २४ घण्टामा २ हजार ६ सय ३८ वटा कल आएका आएको उनको भनाइ छ । मन्त्रालयको मोबाइल एप्लिकेसन र वेभसाइटमा पनि सर्वसाधारणको सक्रियता बढेको छ ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अर्पाटमेन्टमा संक्रमित देखिएकाहरु रहेको अपार्टमेन्टका दुई सय ९८ जनाको आज आरडिटीमार्फत परीक्षण गरिएको छ । ती सबैको नेगेटिभ रिर्पोट आएको छ । संक्रमितको घरमा रहेका सहयोगी दुई जनाको स्वाब संकलन गरिएको र उनीहरुको पिसिआरमार्फत परीक्षण हुँदैछ ।