सप्तरीका दुई जनामा आरडिटीमा कोरोना पोजेटिभ, स्वाब परीक्षण धरानमा हुँदै

सप्तरी, ३ वैशाख । सप्तरीमा दुई जनामा कोरोना पुष्टि भएको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्टबाट सप्तरीको तिलाठी कोइलाडी र खडक नगरपालिकाका एक एक जनामा कोरोना पोजेटिभ देखिएको हो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमारसिंहले आरडी विधिमा कोरोना पोजेटिभ भएपछि दुवै जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको हाम्रो डाक्टर न्यूजलाई बताए ।
उनले दिल्लीको जमातबाट फर्केका ती दुवैमा कोरोना पोजेटिभ देखिएपछि थप पुष्टिका लागि धरानस्थि प्रयोगशालामा स्वाब परीक्षणका लागि पठाइएको भन्दै आज साँझसम्म नतिजा आउने जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का एक पुरुष दिल्लीबाट आएको झन्डै एक महिनापछि कोरोना पुष्टि भएको भन्दै अध्यक्ष सिंहले अहिले वडा नम्बर १ पुरै शिल गरिएको र उनको परिवारका १२ जना सदस्यको स्वाब परीक्षणका लागि नमूना संकलनको काम सुरु भएको बताए ।
यस्तै खडक नगरपालिकाका पुरुषका परिवारका सदस्यको पनि स्वाबका लागि नमूना संकलनको काम सुरु भएको नगरपालिकाका प्रमुख हेमायु हकले बताएका छन् ।