सुदूरपश्चिमका २९ सय ४१ जनाको र्यापिड टेस्ट, सबैको नतिजा नेगेटिभ

धनगढी २ वैशाख । सुदूरपश्चिमका दुई हजार ९ सय ४१ जनाको ¥यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा एक हजार ५ सय २१ जनाको र्यापिड टेस्ट गरिएको छ ।
यस्तै कञ्चनपुरमा ४ सय १५, बैतडीमा एक सय ४२, दार्चुलामा ५८, डडेल्ुधरामा ९, डोटीमा दुई सय ७१, बझाङमा चार सय ६१, अछाममा १, बाजुरामा ६३ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ ।
यस्तै अहिले सम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ७४ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रदेशका विभिन्न सात वटा अस्पतालमा १८ जनालाई आईसोलेसमा राखिएको छ । जसमा ५ जना कोरोना संक्रमित छन् भने बाँकी १३ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा डोटी बाहेक अन्य आठ जिल्लामा एक हजार ८३ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ ।
यस्तै मंगलवार मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि थप दुई सय २५ जनाको नमूना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार मंगलवार धनगढीमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई सय २५ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सुदूरपश्चिम प्रदेशबाट नमूना संकलन गरी कोरोना परीक्षण थालिएको झण्डै दुई महिनामा सोमवारसम्म ७ सय ५६ जनाको रिपोर्ट आएको थियो भने मंगलवार थप दुई सय २५ जनाको नमूना परीक्षण भएसंगै उक्त सङख्या बढेर नौँ सय ८१ पुगेको छ ।
अहिलेसम्म पाँच जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा मंगलवारसम्म पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि दुई हजार ५ सय २० जनाको नमूना संकलन गरिएको छ । अझै एक हजार ५ सय ३९ जनाको रिपोर्ट भने आउन बाँकी छ ।
सेती अस्पतालमा अनिश्चितकालका लागि प्रसुती सेवा बन्द
सेती प्रादेशिक अस्पतालमा भोलीदेखि अनिश्चितकालका लागि प्रसुती सेवा बन्द हुने भएको छ । मंगलवार प्रादेशिक अस्पतालले सूचना जारी गर्दै भोलीदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसुती सेवा बन्द हुने जानकारी दिएको हो ।
प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेकाले प्रसुती सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । यो अवधीमा आमा सुरक्षा कार्यक्रम लागु भएको धनगढीकै नवजिवन अस्पतालबाट सेवा लिन समेत आग्रह गरिएको छ ।