बाजुराका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले अझै पाएनन् मास्क



Download our app to get more features

बाजुरा, २ बैशाख । बाजुराका अधिकांश हेल्थ डेस्कमा खटिएका  स्वास्थ्यकर्मीले अहिलेसम्म मास्क समेत पाएका छैनन्। स्वास्थ्यकर्मीलाई मास्क मात्रै होइन कतिपय हेल्थ डेक्समा ज्वरो नाप्ने आईआर थर्मामिटर पनि छैन । उनीहरु थर्ममिटर र मास्कविनै हेल्थ डेस्कमा खटिएर आफ्नै जीवनसमेत जोखिममा पारिरहेका छन् । 

बाजुरामा २१ वटा हेल्थ डेस्क, १५ वटा क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष छन्् । अधिकांश हेल्थ डेक्समा कार्यरत स्वास्थ्यकर्मी मास्कविनै सेवा दिइरहेका छन्।  जगन्नाथ गाउँपालिका– १ पिलिचौरका स्वास्थ्यकर्मी बद्रिबहादुर शाहिले हेल्थ डेक्समा मास्क र ज्वरो नाप्ने आईआर थर्मामिटर नभएको बताए। ‘गाउँपालिकाले  हेल्थ डेक्स त स्थापना गरे तर नाम मात्रैको छ, सर्वसाधारण र हाम्रो सुरक्षाका लागि कुनै सामग्री छैनन्’ उनले भने। 

बुढीनन्दा नगरपालिकामा रहेका हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग पनि मास्क छैन । बुढीनन्दानगरपालिका–१ पिपलडाँली र पाण्डुसैनमा स्थापना भएका दुवै हेल्थ डेस्कका स्वास्थ्यकर्मी विनामास्क काम गरिरहेका छन्। यस्तै हिमाली गाउँपालिका–७ बाधुमा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मामिटर र सर्जिकल मास्क नभएपछि कपडाको मास्क लगाएर चेकजाँच गरिरहेको अनमी अनिता कडायतले बताइन्। 

हेल्थ डेस्कबाट कोरोनासम्बन्धी जनचेतान दिइरहेका छौं : स्वास्थ्य कार्यालय
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले कुनै पनि हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मामिटर नभएको स्वीकार गरे । ती डेस्कमा कोरोना भाइरससम्बन्धी जानकारी दिने, सोधपुछ गर्ने,  भारतबाट आएकाहरुको अभिलेख राख्ने  गरिएको पन्तले बताए। ‘मास्कको देशभरी नै अभाव छ, आइआर थर्मामिटर धेरै ठाँउमा खोज्यौ पाइएको छैन्, आउने बित्तिकै व्यवस्थापन गछौ’ उनले भने। पहिला केही थर्मामिटर र मास्क आएकोमा त्यो मिलाएर पठाएको प्रमुख पन्तले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस संक्रमण निगरानी तथा रोकथामसम्बन्धी हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ। तर त्यो अनुसार स्थापना भएका हेल्थ डेक्समा भने कुनै व्यवस्थापन भएका छैनन्। मास्क नै नभएपछि यी स्थापना भएका हेल्थ डेक्समा आवतजावत गर्नेको रेकर्ड राख्ने कामबाहेक अन्य केहि कार्य भएको छैन।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts