सुदूरपश्चिममा कोरोना संक्रमितको उपचार गर्न काठमाडौंबाट ३३ चिकित्सकको टोली आउँदै



Download our app to get more features

धनगढी, २ बैशाख । सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरस संक्रमित बढ्न थालेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली रोकथाम तथा उपचारका लागि आउने भएको छ। संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सक सुदूरपश्चिम पठाउन लागेको हो। 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संघीय मन्त्रालयमा यस विषयमा छलफल भईरहेको बताए । भोलिसम्म चिकित्सकको टोली धनगढी पुग्ने जानकारी आएको बताए। उनका अनुसार विशेषज्ञ डाक्टरको टोली आउन लागेको हो। 

स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाउने र सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। उनले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परेका अन्य अस्पतालमा समेत खटाईने बताए। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको सङख्या पाँच पुगिसकेको छ। 

दुवईबाट आएका धनगढी उप–महानगरपालिका–५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र लम्की चुहा नगरपालिका–१ की ६५ बर्षीया महिलामा संक्रमण पुष्टि भईसकेको छ। पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts