कोरोना विरुद्धको लडाइमा सरकारले अपनायो छ 'टी' को फर्मुला



Download our app to get more features

काठमाडौं, १ वैशाख । कोरोना भाइरसको महामारीबाट लड्न सरकारले छ 'टी' को रणनीति अगाडी सारेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सोमवार नयाँ वर्षको अवसरमा शुभ कामना दिँदै कोरोना संक्रमणको लडाइका लागि सरकारले छ 'टी' को रणनीति अपनाएको बताए । 

उनले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसमाथि विजयी हासिल गर्नका लागि सरकारले अपनाएको छ 'टी' को बारेमा बताउँदै कोरोना भाइरस विरुद्धको यो लडाइमा सबै एक जुट हुनुपर्ने बताए ।

यस्तो छ सरकारले अगाडी सारेको छ "टी" :
क) ट्राभेल रेस्ट्रिक्सन:
 कोरोना भाइरसविरुद्धको लडाइमा सरकारले सबैभन्दा पहिले ट्राभेललाई बन्द गरेको छ । मुलुकलाई लकडाउनको अवस्थामा राखेर एक ठाउँबाट अर्को ठाउँ जानलाई बन्देज गर्नुका साथै सम्पूर्ण सीमा नाका बन्द गरिएको र हवाई उडान पनि बन्द गरिएको छ । साथै उच्चस्तरीय समितिले गरेको निर्णय अुनसार कोरोनाको जोखिमलाई ध्यानमा राखि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान रोक लगाइएको छ ।

ख) टेस्टिङः सरकारले कोरोना परीक्षणको दायरालाई बढाएर यसको जोखिम गर्ने रणनीति अपनाएको छ । यसका लागि स्थानीय, प्रदेश र संघ सरकारले क्वारेन्टाइनमा भएकाहरुको नमूना परीक्षण पीसीआर र आरडिटीबाट सुरु गरिसकेको छ । 

ग) ट्रेसिङ्गः संक्रमित व्यक्तिको सम्पर्कमा आएका र भएकाहरुको खोजि गर्ने काम भइरहेको छ भने पहिले भेटिएका संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्ने काम सम्पन्न भएको छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गरिरहेको छ ।

घ) ट्र्याकिङ्गः सम्भावित संक्रमित व्यक्ति र संक्रमित व्यक्तिले गरेको आवतजावतको विषयमा पत्ता लगाउने कामपनि भइरहेको छ । एक ठाउँबाट अर्को ठाउँमा गएकाले कोरोना संक्रमण त्यस क्षेत्रपनि हुन सक्ने भएकाले उनीहरुको बारेमा पत्ता लगाउने काम जारी छ । 

ङ) ट्रिटमेन्टः हाल नेपालमा १४ जना कोरोना संक्रमित छन् । जसमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी १३ जनाको उपचार भइरहेको छ । कोरोनाका कारण संक्रमित भएकाहरुको उपचार नेपाल सरकारले निः शुल्क गर्नेछ । सरकारले कोरोना उपचारका लागि भन्दै विभिन्न अस्पतालहरुपनि छुट्याइसकेको छ । त्यसकारण कोरोना संक्रमित र कोरोना नभएकाहरुको उपचारमा सजिलो हुनेछ । 

च) टुगेदरः विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसको लडाइमा सिङ्गो देश नै लागि परेको छ । विभिन्न मन्त्रालयहरुको समन्वय र सहकार्यमा यो लडाइ लड्नका लागि विभिन्न कमिटिहरुपनि गठन गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतले आफ्नो योगदान दिइरहेका छन् । नागरिकलाई अत्यावश्यक सामग्री पनि पुर्याउने काम भइरहेको छ । कोरोना विरुद्धको यो लडाइमा सबै एकजुट एक साथ भएर लाग्नुपर्छ । यसका लागि सरकारले विभिन्न सेवा सुुविधाको पनि व्यवस्था गरेकाले सबैको साथ अपरिहार्य छ ।

Last modified on 2020-04-13 17:09:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts