कोभिड–१९ : इटलीमा मृत्युदरमा कमी, चीनमा फेरि नयाँ संक्रमितको दर बढ्यो

काठमाडौं, १ वैशाख । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण पछिल्लो समय युरोपीयन मुलुकमा मानिसको मृत्यु हुने दरमा कमी आएको छ । युरोपमा सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको इटलीमा पछिल्लो २४ घन्टामा चार सय ३१ जनाको कोरोनाबाट ज्यान गएको बताइएको छ । इटलीमा हालसम्म १९ हजार आठ सय ९९ जनाको मृत्यु भइसकेको छ भने एक लाख ५६ हजारभन्दा बढी कोरोना संक्रमित छन् ।
यस्तै कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि नयाँ संक्रमितको दरमा वृद्धि भएको छ । जुन पछिल्लो पाँच साताकै उच्च भनिएको छ । बीबीसीका अनुसार चीन र रुससँग जोडिएको उत्तरी राज्य हेइलोंगजीयांगमा यो साता एक सय ८ नयाँमा कोरोना संक्रमण भएको छ । यस्तै युरोपकै अर्को मुलुक फ्रान्समा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा फ्रान्समा कोरोनाका कारण मात्र तीन सय १५ जनाको मृत्यु भएको छ । फ्रान्समा हालसम्म कोरोनाका कारण १४ हजार चार सयभन्दा बढीको मृत्यु भएको छ भने एक लाख ३३ हजारभन्दा बढी संक्रमित भएका छन् ।
यसैबीच फ्रान्सका प्रधानमन्त्री इम्यानुअल म्याक्रोनले लकडाउनलाई निरन्तरता दिने बताएका छन् । फ्रान्समा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको दर बढ्दै गएको भन्दै प्रधानमन्त्री म्याक्रोनले १७ मार्चबाट लागू गरिएको लकडाउनलाई निरन्तरता दिनेगरी आज सम्बोधन गर्नेछन् ।
कोरोनाका कारण सबैभन्दा बढी युरोपीयन राष्ट्रहरु प्रभावित बनेको छ । जसमा स्पेनमा पनि पछिल्लो समय कोरोनाका कारण ज्यान गुमाउने दरमा निरन्तर कमी आएको छ । स्पेनमा पछिल्लो २४ घन्टामा ६ सयको मृत्यु भएको छ । यो सँगै स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ हजार पुगेको छ भने संक्रमित हुनेको संख्या एक लाख ६६ हजारभन्दा बढी पुगेको छ ।
बेलायतमा कोरोनाका कारण संक्रमित भएका प्रधानमन्त्री बोरिस जोनसोन अस्पतालबाट आइतवार नै डिस्चार्ज भइसकेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले अस्पताल र उपचारमा खटिएकाहरुलाई धन्यवाद दिएका छन् । कोरोनाका कारण बेलायत सबैभन्दा बढी प्रभावित हुन सक्ने त्यहाँका विज्ञहरुले बताएका छन् । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको दर बढ्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
बेलायतमा रहेका झन्डै १२ जना नेपालकीको कोरोनाका कारण मृत्यु भएको छ भने बेलायतमा हालसम्म कोरोनाका कराण १० हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । यस्तै ८५ हजार भन्दा बढी संक्रमित भएका छन् । १९ जना डाक्टरहरुको पनि कोरोना उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
जापानमा दोस्रो स्टेटमा पनि इमर्जेन्सी लागू गरिएको छ । उत्तरी राज्य होक्काइडोमा लागू गरिएको आपतकाललाई थप गरिएको छ । यसअघि १९ मार्चमा त्यहाँ स्टेट इमर्जेन्सी लागू गरिएको थियो ।
पछिल्लो समय केन्द्रबिन्दु बनेको संयुक्त राज्य अमेरिकामा समाचार तयार पार्ने बेलासम्ममा २२ हजार एक सय १५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । यस्तै यहाँ पाँच लाख ६० हजार चार सय ३३ जना संक्रमित छन् भने उपचारपनि निको हुनेको संख्या ३२ हजार ६ सय ३४ जना छन् ।
दक्षिण एशिया बढ्दै कोरोना संक्रमित
दक्षिण एसियामा मध्ये भारतमा सबैभन्दा धेरे कोरोना भाइरस संक्रमित फेला परेका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ३३१ जनाले ज्यान गुमाइसकेका छन् । यहाँ संक्रमितको संख्या नौ हजार दुई सय ४० छन् भने उपचारपछि घर फर्कनेको संख्या एक हजार ९६ छ । भारतपछि ठूलो जनसंख्या भएको पाकिस्तानमा पनि कोरोना संक्रमणबाट ९३ जनाले ज्यान गुमाइसकेका छन् । ५ हजार तीन सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने उपचारपछि घर फर्कनेको संख्या एक हजार ९५ छ । नेपालमा पनि सोमबार मध्यान्नसम्म जम्मा १३ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि एक जना घर फर्किएका छन् भने बाँकी सबै उपचाररत छन् ।