आरडिटीमा पुष्टि नभएको कोरोना स्वाब परीक्षणमा पुष्टि



Download our app to get more features

धनगढी, १ वैशाख । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा कोरोनाको नमूना परीक्षण गर्दा पुष्टि नभएको अधिकांश नतिजा स्वाब परीक्षणमा पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले नै अविश्वसनीय बताएको आरडिटीमा कोरोना परीक्षण गर्नु उचित नहुने बताइरहँदा नेपालमा भने धमाधम आरडिटीबाट नमूना परीक्षण हुँदैछ । तर, चिकित्सकहरुले नै यसमा शतप्रतिशत ढुक्क हुन सक्ने अवस्था नरहेको बताउँछन् ।
 
आज मात्रै कैलालीमा आरडिटीबाट नमूना परीक्षण गरेर घर पठाईएकी महिलाको स्वाब  परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको छ । चिकित्सकहरुले आरडिटीको विश्वसनियता कम भएको बताउँदै आएका बेला यसले आरडिटीको विश्वसनियतामाथि थप प्रश्न खडा गरेको छ । 

जिल्लाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

लम्कीचुहा अस्पताल स्रोतले भन्यो, ‘१४ दिन क्वारेन्टाईमा राखिएपछि ती महिलाको ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको थियो । अहिले प्रयोगशालामा स्वाब परीक्षण गर्दा रिपोर्टमा कोरोना पुष्टि भएको छ र उनलाई सेती अस्पताल पठाइने तयारी भएको छ ।’ 

लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल पठाइँदैछ । 

उनी वीरगञ्जमा सामान्य व्यापार गर्दै आएकी थिइन् । वीरगञ्जबाट उनीसहित १७ जना लम्की चुहा नगरपालिकामा चैत्र ९ गते आएका थिए । पहिला क्यारेन्टाइनमा बस्न नमाने पनि सबैलाई राखिएको थियो । 

सुदूरपश्चिम प्रदेशमा यसअघि पनि चार जनाको कोरोनाको संक्रमण देखिएको छ । धनगढीका दुई, लम्कीका एक र कञ्चनपुरका एक जनामा संक्रमण देखिएको थियो । एक जनामा संक्रमण देखिएको थियो । उनीहरुकोपनि पहिले आरडिटीबाट नमूना जाँच गरिएको र पछि स्वाबबाट नमूना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

Last modified on 2020-04-13 12:41:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts