सुदूरपश्चिमबाट २१ सय बढीको नमूना संकलन, १५ सय ५० को रिपोर्ट आउन बाँकी



Download our app to get more features

धनगढी, ३० चैत । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि अर्थात् प्रयोगशाला मार्फत परीक्षणका लागि अहिलेसम्म दुई हजार बढीको नमूना संकलन भएको छ । 

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा दुई महिनाको अवधिमा दुई हजार एक सय ७९ जनाको नमूना संकलन भएको हो । 

प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन् । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म ६ सय २९ जनाको मात्रै परीक्षण रिपोर्ट आएको छ भने एक हजार पाँच सय ५० को रिपोर्ट आउन बाँकी छ ।

हिजोसम्म ५३ जनाको मात्रै नमूना परीक्षण गरिएकोमा आइतवार मात्रै थप दुई सय ७० जनाको नमूना परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ । आइतवार परीक्षण गरिएका सबै दुई सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

संघीय सरकारले धनगढीमै दुई वटा परीक्षण प्रयोगशाला स्थापना गरेपछि अहिले प्रयोगशाला मार्फत हुने परीक्षणले तिव्रता पाएको हो । यस्तै सुदूरपश्चिममा थप दुई हजार दुई सय ३१ जनाको र्यापिड टेष्ट पनि गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । 

अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोनाको संक्रमण देखिएको छ । चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Last modified on 2020-04-12 18:33:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts