वीरगञ्जमा भेटिएका कोरोना संक्रमितको सम्पर्क र संसर्गमा आएकाको खोजी गर्न टोली परिचालन



Download our app to get more features

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जमा भेटिएका कोरोना संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

शनिवार राति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा वीरगञ्जमा रहँदै आएका ३ भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । सोको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले संक्रमित तीनै जनाको स्वास्थ्य सामान्य रहेको र उनीहरुको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको बताए ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा उनले संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङ अर्थात् उनीहरुको सम्पर्क र संसर्गमा आएकाहरुको खोजी गर्नका लागि टोली त्यसतर्फ गइसकेको पनि जानकारी गराए । 

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ५ हजार १२४ स्वाब परीक्षण गरिएको छ भने मुलुकभर ८ हजार क्वारेन्टाइनमा रहेका छन् । ८५ जना देशैभर आइसोलसन वार्डमा छन् । १५ जना उपत्यकामा र ७० जना काठमाडौं बाहिर छन् ।

यसैगरी हालसम्म ३३ सय २१ जनाको र्यापिड डाइग्नोस्टिक किटबाट नमूना परीक्षण गरिएको छ । सरकारले स्थापना गरेको कल सेन्टरमा ३१ सय ३६ जनाले सेवा लिएका छन् । हालसम्म मोबाइल एप र वेबसाइटमा १५ हजार ७ जनाले नाम दर्ता गराएकोमा २ सय ७ जना रेड जोनमा छन् । 

यस्तै गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले सरकारलाई ५ सय व्यक्तिगत सुरक्षा उपकरण र ४ हजार थान पीसीआर उपलब्ध गराएको छ भने देउराली जनता फर्मास्यूटिकल्सले सरकारलाई एक लाख ५० हजार हाइड्रोक्सिक्लोरोक्विन ट्याबलेट उपलब्ध गराएको छ । यस्तै दार्चुलामा पहिलो शनिवार ४ सय ६० वटा नमूना संकलन गरिएको छ ।  

नेपालमा विस्तारै कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले अपनाएको मुख्य २ रणनीतिलाई अबलम्बन गर्न आग्रह गरे । उनले लकडाउनको पूर्ण पालना गरेर क्वारेन्टाइनमा रहन भन्दै सरकारले परीक्षणको दायरा बढाउँदै गएको बताए ।

Last modified on 2020-04-12 16:42:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts