कोभिड-१९ विरुद्धको औषधि परीक्षणको परिणाम 'उत्साहजनक'

बीबीसी, २९ चैत । कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड–१९ का बिरामीहरूमा गरिएको एउटा औषधिको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ ।
अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड–१९ का बिरामीमा गरिएको औषधिको परीक्षणले सकारात्मक परिणाम दिएको हो ।
उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको रेम्डेसिभिर नामक औषधि दिइएको थियो ।
उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ ।
‘सुखद परिणाम’
परीक्षणमा सहभागी ३० जना बिरामी मध्ये १७ जनालाई त्यो औषधि दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो ।
त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन् । तर, उनीहरूले थप अध्ययन र तथ्याङ्क उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन् ।
रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ ।
वृहत् परीक्षण
यसअघि रेम्डेसिभिर औषधिको अर्को परीक्षण यूकेको इङ्गल्यान्ड र स्कटल्यान्डमा सुरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए ।
सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो ।
गिलियडले यूकेमा कोभिड–१९ का सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो ।
त्यसको नेतृत्व सङ्क्रामक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन् । त्यो औषधिको चीनमा पनि परीक्षण जारी रहेको बताइएको छ ।