काम सहि तर प्रक्रिया गलत: डा. केसी
अहिले नेपाली बजारमा नक्कली चिकित्सकको अत्याधिक चर्चा छ । नक्कली चिकित्सकको चर्चा चलिरहँदा बिरामी भने आफ्नो जाँच गर्न आउने चिकित्सक पनि नक्कली त हैन भनेर शंका गर्नु पर्ने अवस्था आएको छ । अनुसन्धानको क्रममा रहेको संस्थाले अझै हजारौँको संख्यामा नक्कली चिकित्सक समातिने बताई रहँदा बिरामीमा उत्पन्न शंकाका कारण बिरामी र चिकित्सकबीचमा दुरी बढ्छ या बढ्दैन ? यदि बढ्छ भने त्यो दुरीलाई कम गर्न के गर्न सकिन्छ भन्ने बिषयमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीसँग शिब प्रसाद लामिछानेले गरेको कुराकानी :
सिबिआईले अझै थप हजारौँको संख्यामा चिकित्सकहरु समातिने बताईरहँदा आफूले उपचार गराउन गएको चिकित्सक पनि नक्कली हो भने शंका बिरामीमा पर्न सक्छ । यसले बिरामी र चिकित्सकबीचको दुरी बढ्दैन ?
जुन किसिमले अहिले बजारमा नक्कली चिकित्सकका कुराहरु चलिरहेका छन् । सिबिआईले केही चिकित्सकहरुको बिषयमा अनुसन्धान गरी तिनका प्रमाणपत्रहरु नक्कली होकी भनेर प्रमाणित गर्नका लागि थुनामा राखिएको छ । स्वभाविक रुपमा नक्कली चिकित्सकले उपचार गर्न मिल्दैन र उनीहरुको प्रमाणपत्र रोक्का गर्नुपर्दछ र उनीहरुलाई कानुनी रुपमा कारबाहि गर्नुपर्दछ ।
तर यी सबै कुराहरुलाई हेरेर सामान्यीकरण गर्ने अवस्था भने छैन किनभने यो देशमा हेल्थ असिस्टेन्ट, अहेबले बिदेशबाट झोलामा औषधी बोकेर आएर यो देशका जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्य सेवा दिएका छन् ।
स्वास्थ्यसेवा भनेको विश्वासमा अडिनुपर्ने सेवा हो । आफूलाई विश्वास लागेको कुनै पनि व्यक्तिबाट स्वास्थ्य सेवा लिन सकिन्छ । बजारमा आएका केही घटनाहरुले गर्दा समस्त चिकित्सकहरुलाई आरोप लगाउनु वा अन्यथा दृष्टिकोणले हेर्ने मानसिकता उपयूक्त होईन र त्यस्तो अवस्था श्रृजना गर्नु पनि हुन्न ।
भूकम्पको चरम पीडा भोगेको अवस्थामा अन्य क्षेत्रहरुको उपस्थिती समयमा हुन नसकेपनि स्वास्थ्यकर्मीहरुले दिएको सेवा भने अन्य क्षेत्रभन्दा सकारात्मक थियो यो बिषयलाई सम्झनु आवाश्यक हुन्छ । त्यसैले सानातिना कुराहरुले चिकित्सक र बिरामीबीचको दुरीमा निर्माण हुनु हुन्न र जो एक आपसको विश्वास छ त्यो निरन्तर रहनुपर्दछ र रहन्छ पनि ।
जो सक्कली चिकित्सक छन् उनीहरुको मानसिकतामा यो घटनाको प्रभाव कस्तो रह्यो ?
स्वभाविक रुपमा यस्तो घटनाले चिकित्सक जमातलाई स्तब्ध बनाएको छ । चिकित्सको पनि प्रमाणपत्र नक्कली छ र भनेर आफैँमाथी शंका गर्ने अवस्था आयो । यद्यपी चिकित्सकहरु बिभिन्न ओहदा र अवस्थामा रहेर जनताको सेवामा तल्लीन रहेका छौँ ।
शंका र आरोप दुई फरक फरक बिषय हुन् त्यसकारण मिडियाले पनि आफ्नो भूमिकालाई चुस्त दुरुस्त र सन्तुलित राख्नु आवाश्यक छ ।
मैले झण्डै आठ बर्ष अगाडी यो बिषयको उठान गरेको थिएँ । नक्कली चिकित्सकहरु हाम्रो बजारमा हुनसक्छन् उनीहरुको कारबाहीको लागि आवाज उठाउनु पर्दछ भनेर सम्बन्धित निकाय तथा सरकार समक्ष अनुरोध गरेको थिएँ र अहिले पनि म त्यहि पक्षमा छु ।
यद्यपी अहिले सिबिआईले जुन तरिकाले चिकित्सकहरुमाथी कारबाही अगाडी बढायो त्यसमा भने असहमति रहेको छ । निरन्तर काममा रहेका चिकित्सकहरुलाई निश्चित ठाउँमा उपस्थित हुन अनुरोध गर्नुभन्दा पनि चिलले चल्ला उठाएजस्तो चिकित्सकहरुलाई कारबाही गर्ने तरिका भने गलत हो ।
एकअर्कालाई कसले कति सम्मान गर्छ या गर्दैन त्यो फरक पाटो हो तर राज्यले सबैलाई समान रुपमा सम्मान गर्न आवाश्यक छ । सत्यतथ्यलाई हेरेर र पूर्ण प्रमाणका आधारमा कारबाही होस् भन्ने मेरो धारणा छ ।
यो घटनाले चिकित्सक र बिरामीबीच आउने दुरीलाई कसरी कम गर्न सकिन्छ ?
चिकित्सकहरुका पनि बिभिन्न किसिमका कमीकमजोरीहरु छन् । उनीहरुले बिरामीलाई दिनुपर्ने समय नदिँदा, गर्नुपर्ने व्यवहार नदेखाउँदा र बिरामी र चिकित्सकबीचको सम्बन्ध सौहार्द नहुँदा समस्या आउन सक्छ यसलाई कम गर्नुपर्दछ ।
यो बिषयमा चिकित्सक र बिरामी दुबै सजग हुनुपर्दछ । सबैलाई शंकाको नजरले हेर्नु पनि उपयूक्त हैन । एकअर्कालाई विश्वास नै गर्न अवस्था नरहने भन्ने अवस्था श्रृजना हुनु हुँदैन र हुन्न पनि ।
चिकित्सकहरुको प्रमाणपत्र तहका कागजातहरु नै नक्कली रहेको समेत पाईएको छ । यो प्रक्रियालाई अध्ययन गर्दा कमजोरी कहाँ हो ?
एक जना एमबीबिएस बढ्न जाने बिद्यार्थीले सबैभन्दा पहिले स्वास्थ्य मन्त्रालयमा गएर नो अब्जेक्सन लेटर लिन्छ । स्वास्थ्य मन्त्रायले कसरी नक्कली कागजातलाई किन स्विकृति दियो ? यसैगरी मेडिकल काउन्सिल पनि यस बिषयमा चुकेका छौँ । ईलिजिबल लेटर दिने मेडिकल काउन्सिलले पनि यो बिषयमा ध्यान दिएर हेर्नु पर्दथ्यो । यति धेरै लगानी भएर चिकित्सक बनिसकेपछि नक्कली चिकित्सक भनेर समातिएपछि ठूलो विश्वासको खाडल निर्माण भएको छ ।
कुनैपनि व्यक्तिको कुनैपनि तहको प्रमाणपत्रहरु नक्कली छन् भने उसलाई कारबाही गर्नुपर्दछ त्यसका दुई मत छैन । यद्यपी जसरी पक्राउ गरिएको छ त्यो प्रक्रिया भने पक्कै गतल छ । आफू चिकित्सक संघको पूर्व अध्यक्ष भएको नाताले चिकित्सक संघ र मेडिकल काउन्सिललाई अपलि गर्दछु ।
तर यी प्रक्रियाहरु पुरा गरिरहँदा कसैको सम्मान र आत्मस्वाभिमानलाई आँच आउन दिनु हुँदैन । कानुनले ‘सय दोषी उम्कउन तर एक निर्दोष नपक्रियोस्’ भन्ने सिद्धान्तलाई अपनाउनु पर्दछ ।
बिराटनगरमा भएको घटनालाई लाई लिन सक्छौँ । जसरी एउटा सक्कली डाक्टरलाई नक्कली भनेर पक्राउ गरीयो त्यो गलत छ यस्तो बिषयमा राज्य संबेदनशील हुनु पर्दछ । राज्यले प्रतिष्प्रर्धा र केही गरेर देखाउने नाममा आक्रोशित र उत्तेजित भएर लाग्नु अन्तत स्वंमका लागि नै नोक्सान हुनेछ ।
जो प्रमाणपत्रतहका नक्कली कागजात लिएर पढ्न गए र बाँकी अध्ययन सक्कली रुपमा सकाए उनीहरुको लागि कसरी सोच्नु आवाश्यक छ ?
हाम्रो संस्कृति अनुसार विवाह नभएर जन्मेको बच्चा जायज तथा कानुनी हुँदैन त्यसैगरी एसएलसी, प्रमाणपत्र तह नै पास नगरीकन एमबिबीएस, एमएस, एम डी गरेको छ भनेपनि त्यो कानुनी हुँदैन ।