कोरोना परीक्षण वीर अस्पतालमा पनि सुरु, टेकुमा पनि र्यापिड टेस्ट हुने

काठमाडौं, २९ चैत । सरकारले कोरोनाको नमूना परीक्षण दायरा बढाउँदै वीर अस्पतालमा पनि परीक्षण सुरु गरेको छ ।
सरकारले स्थापना गरेको कल सेन्टरमा नमूना परीक्षण कम भयो भन्ने सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्दै वीर अस्पतालमा पनि नमूना परीक्षण सुरु गरेको हो ।
योसँगै अब काठमाडौं उपत्यकामा दुई स्थानबाट कोरोनाको नमूना परीक्षण हुने भएको छ ।
यस्तै टेकु अस्पतालमा पनि अब र्यापिड डाइग्नोस्टिक टेस्ट हुने भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भोलीबाट टेकुमा र्यापिड डाइग्नोस्टिक विधिबाटपनि नमूना परीक्षण हुने बताए ।
यस्तै प्रवक्ता देवकोटाले हालसम्म नेपालमा कुनैपनि नयाँ कोरोनाको बिरामी फेला नपरेको स्पष्ट पार्दै क्वारेन्टाइनमा रहेका सबैको र्यापिड डाइग्नोष्टिक टेस्टबाट कोरोना जाँच गरिने बताए ।
यस्तै हालसम्म ४४ सय २६ जनाको स्वाबबाट नमूना कोरोना परीक्षण भएको जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै ३३ सय ९२ नमूना परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा मात्रै सय ९ जनाको स्वाब परीक्षण गरिएको छ । उपत्यका बाहिर ७ ससय ४२ वटा नमूना संकलन गरिएको छ ।
हाल नेपालभर ८ हजार ८२ जना क्वारेन्टाइनमा, ८४ जना आइसोलेसनमा रहेका छन् । यस्तै सरकारले स्थापना गरेको कल सेन्टरमा १द्ध हजार १ सय १६ जनाले सेवा लिएका छन् । स्वास्थ्य एप र वेबसाइटमा पछिल्लो २४ घन्टामा नाम दर्ता गराएकामध्ये छ जना रेड जोनमा रहेका छन् भने कुल १ सय ८९ जना रेड जोनमा पुगेका छन् । रेड जोनमा पुगेका सबैको सरकारले स्थापना गरेको इकाइले नमूना संकलन र परीक्षण गर्नेछ ।
साथै ७७ वटै जिल्लामा कोरोनाको नमूना परीक्षणको तयारी भइरहेको छ भने सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा नमूना संकलनको काम भइरहेको छ ।