धनगढीका संक्रमित युवकको तेस्रो र अन्य दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’

धनगढी, २९ चैत । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) संक्रमित धनगढीका युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकमा १४ गते कोरोना पुष्टि भएकोमा यसअघि दोस्रो पटक गरिएको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो भने शनिवार तेस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
यससँगै उनको अस्पताल बसाई लम्बिएको छ । तेस्रो रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गर्ने तयारी थियो । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए । काठमाडौँबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट स्थलमार्ग हुँदै धनगढी पुगेका थिए ।
ती युवककी भाउजुमा पनि कोरोना संक्रमण भएको पुष्टि भईसकेकोमा उनको समेत दोस्रो रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।
‘धनगढी कोरोना संक्रमित ३४ वर्षकी महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । कञ्चनपुरका ४१ वर्षिय संक्रमितको पनि पोजेटिभ नै आएको छ । तर कैलालीको लम्कीका २१ बर्षिय संक्रमितको दोस्रो रिपोर्ट आउन भने बाँकी छ ।’ डाक्टर जोशीले भने । अहिले सेती प्राचदेशि अस्पतालमा चार संक्रमित सहित थप तीन जना संकास्पद बिरामीको पनि उपचार भईरहेको छ ।