धनगढी पुर्याइएको कोरोना परीक्षण मेसिन चार दिन बित्दापनि जडान हुन सकेन

धनगढी, २९ चैत । संघीय सरकारले कोरोना परीक्षणका लागि धनगढी पठाएको मेसिन चार दिन बित्दापनि जडानमा हुन सकेको छैन ।
केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तिव्रता दिन बुधवार आरटीपीसीआर मेसिन पठाएपनि अहिले सम्म जडान हुन सकेको छैन ।
प्रदेश सरकारले जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामाग्रीको अझै व्यवस्थापन गर्न नसक्दा मेसिन जडानमा समस्या भएको प्राविधिकहरुले बताएका छन् । प्रदेश सरकारले आवश्यक १० बढी सामानमा अधिकांश सामानको व्यवस्थापन गरेपनि काठमाडौँबाट ल्याउन पर्ने सामान भने अझै खरिद गर्न सकेको छैन् ।
प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने सबै सामाग्री व्यवस्थापन नहुँदा जडानमा ढिलाई भएको माईक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले बताए । उनले अब केही सामान मात्रै आउन भएकाले सामान धनगढी पुग्नासाथ मेसिन मार्फत परीक्षण सुरु हुने बताए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विद्युत लाईन विस्तार र फर्निचरको काम जारी रहेको बताए । उनका अनुसार प्रयोगशालामा आवश्यक युपियसको समेत व्यवस्थापन भईसकेको छ । अब काठमाडौँबाट सेन्टी फ्युज मेसिन खरिद गर्न बाँकी रहेको छ ।
सामाजिक विकास मन्त्रालयले उक्त मेसिन काठमाडौँबाट आज नै खरिद गरी ल्याउने तयारी भईरहेको जनाएको छ । केन्द्रीय प्रयोगशालामा रहेका तीनवटा मेसिनमध्ये एक धनगढी पठाइएको थियो । उक्त मेसिन मार्फत १२ घण्टामा दुई सय ७० जनाको परीक्षण गर्न सकिनेछ ।