सुदूरपश्चिबाट पीसीआर परीक्षणका लागि झण्डै १७ सय जनाको नमूना संकलन

धनगढी, २८ चैत । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट परीक्षणका लागि नमूना संकलन थालिएको ५८ दिनमा एक हजार ६ सय ९५ जनाको नमूना संकलन गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा आजसम्म एक हजार ६ सय ९५ जनाको नमूना संकलन गरिएको हो । प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन् ।
नमूना संकलनको कार्यलाई तिव्रता दिएपनि परीक्षण भने निकै सुस्त भईरहेको छ। प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिले सम्म दुई सय ६३ जनाको मात्रै परीक्षण गरिएको छ । बिहीवारसम्म एक सय ९१ नमूना परीक्षण गरिएकोमा शुक्रवार थप ७२ जनाको नमूना परीक्षण गरिएको हो ।
शुक्रवार प्रदेशमा स्थापना भएका प्रयोगशालामा ५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६७ जनाको नमूना परीक्षण गरिएको हो । दुई सय ६३ जनाको थ्रोट स्वावको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैकको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ ।