सुदूरपश्चिममा ८ सय ३९ जनाको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ



Download our app to get more features

धनगढी, २८ चैत । कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा धमाधम कोरोना भाइरसको र्‍यापिड टेस्ट गर्न थालिएको छ ।
 
यसअघि केलाली र कञ्चनपुरबाट संकलन गरिएका थ्रोट स्वाव र रगतको नमूनालाई ‍र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर मेसिन मार्फत परीक्षण गरी विश्वसनीयता मापनपछि मात्रै ‍र्यापिड टेस्टलाई अगाडि बढाउने भनिएको थियो । तर, विश्वसनीयता मापन नगरी ‍र्यापिड टेस्टले तिव्रता पाएको हो ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कैलाली र कञ्चनपुर र पहाडी जिल्लामा अहिलेसम्म ८ सय ३९ जनाको ‍र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कैलालीका तीन सय ३९ र कञ्चनपुरका एक सय ३७ जनामा ‍र्यापिड टेस्ट गरिएको थियो भने पहाडी जिल्लामा पनि थपको ‍र्यापिड टेष्ट गरिएको थियो ।

यता कतिपय चिकित्सकहरुले ‍र्यापिड टेस्ट धेरै विश्वसनीय नभएको पनि बताएका छन् । सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुने बताउँदै र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने बताए । उनका अनुसार यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ । ‍र्यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्ने उनले बताए ।

माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ । ‍र्यापिड टेस्टले शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने उनले बताए ।

Last modified on 2020-04-10 20:19:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts