सुदूरपश्चिमबाट १२ सय ५५ जनाको नमूना संकलन, हजार बढीको परीक्षण बाँकी

धनगढी, २७ चैत । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको परीक्षणका लागि नमूना संकलन थालिएको ५७ दिनमा एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा बिहीवारसम्म एक हजार दुई सय ५५ जनाको नमूना संकलन गरिएको छ । प्रदेशका विभिन्न अस्पताल, ¥यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले नमूना संकलन गरेका हुन् ।
नमूना संकलनको कार्यलाई तिव्रता दिएपनि परीक्षण भने निकै सुस्त भइरहेको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म एक सय ९१ जनाको मात्रै परीक्षण गरिएको छ । बुधबारम्म एक सय ८४ नमूना परीक्षण गरिएकोमा आज थप ७ जनाको नमूना परीक्षण गरिएको हो ।
बिहिबार प्रदेशमा स्थापना भएको प्रयोगशालामा ५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई जनाको मात्रै नमूना परीक्षण गरिएको हो । एक सय ९१ वटा थ्रोट स्वाबको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ ।