दैनिक तीन हजार नमूना परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विस्तार

काठमाडौं, २७ चैत । सरकारले सम्भावित कोरोना संक्रमणबाट संकलन गरिएको नमूना परीक्षणलाई तिव्रता दिने तयारी गरेको छ । तयारी स्वरुप दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी प्रयोगशालाको क्षमता विस्तार गरेको जनाएको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई गति दिन थालेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
कोरोना संक्रमण फैलनु अघिसम्म सरुवा रोगसम्बन्धी परीक्षण गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा मात्र थियो । पछिल्लो तीन सातामा यो सेवालाई सरकारले देशका विभिन्न ११ स्थानमा विस्तार गरिसकेको छ । आवश्यक परेको अवस्थामा देशका अन्य स्थानमा पनि प्रयोगशाला राख्ने नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले बताए ।
मुलुकमा आरटी–पीसीआर अर्थात् रियल टाइम–पोलिमरेज चेन रियाक्सन परीक्षण गर्न सकिने ४० ल्याब छन् । जसमा निजी क्षेत्रका १५ र अन्य सरकारी स्वामित्वमा रहेका छन् । आवश्यक भएमा दैनिक ६ हजार आरटी–पीसीआर परीक्षण गर्न सकिने रजिस्ट्रार खनालले जानकारी दिए ।
उनले कोभिड प्याथोलोजी सल्लाहकार समितिले ल्याब स्थापना, प्रयोगशाला निर्माण, जनशक्ति व्यवस्थापन र उपकरणको गुणस्तर जाँच जस्ता कार्यलाई द्रुत गतिमा गरि प्रयोगशाला सञ्चालनमा आएको बताए । उनले प्रयोगशालालाई २४संै घण्टा चलाउन २० जना जति जनशक्ति आवश्यक पर्ने बताए । एउटा स्वाब नमुना सङ्कलन र परीक्षणका लागि कम्तीमा १२ हजार रुपैया लाग्छ तर त्यो सम्पूर्ण खर्च सरकारले व्यहोरिरहेको उनको भनाइ छ ।
यी स्थानमा सञ्चालन भइरहेका छन् प्रयोगशाला
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूसहित सरकारले छोटो अवधिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढी, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाडौँ विश्वविद्यालय शिक्षा अस्पताल धुलिखेल, राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्र भैरहवा, भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला चितवन र बुटवलमा सेवा सञ्चालनमा ल्याएको छ ।