अपडेट

आर्थिक सहयोग कटौती गर्ने अमेरिकी चेतावनीपछि डब्लूएचओको बचाउ

यस्तो छ कोविड-१९ सँग सम्बन्धीत विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २७ चैत । विश्व स्वास्थ्य संठनले अमेरिकाले दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने चेतावनी दिएपछि त्यसको बचाउ गरेको छ । 

डब्लूएचओका निर्देशक जनरल टेड्रोस अधोनाम घेब्रियेसुसले कोरोनाको विषयमा संगठनले चीनलाई कुनै प्राथमिकता नदिएको बताए । उनले कोरोनाको यो लडाइमा कुनैपनि देशलाई प्राथमिकता दिने र अन्य देशलाई पाखा लगाउने काम संगठनबाट नभएको स्पष्ट पार्दै यो महामारीको लडाइमा सबै एक भएर लाग्नुपर्ने बताए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले कोरोनाको विषयमा चीनलाई प्राथमिकता दिएको भन्दै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग कटौती गर्ने चेतावनी दिएपछि संगठनले त्यसको खन्डन गरेको हो ।

मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरिएको कोविड–१९ अर्थात् नोवेल कोरोना भाइरसका कारण बेलायतमा हालसम्मकै सबैभन्दा धेरै मानिसहरुको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ ९ सय ३८ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ ।

अमेरिकाको जोन हपकिन्स विश्वविद्यालयका अनुसार पछिल्लो समय कोरोनाको केन्द्रबिन्दु बनेको संयुक्त राज्य अमेरिकामा एकै दिन १८ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाको कारण मृत्यु हुनेमा अमेरिका दोस्रो स्थानमा छ । हालसम्म त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या साढे १४ हजार पुगेको छ । 

सोमालियामा पहिलो कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । सोमालियाका स्वास्थ्य मन्त्री फ्वाजिया अविकर नुरले ५८ वर्षको एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको र उपचारको क्रममा उनको मृत्यु भएको बताएका छन् । सोमालियामा हालसम्म मात्र ९ जना कोरोनाबाट संक्रमित छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको स्वास्थ्य स्थिर रहेको बताइएको छ । कोरोनाका कारण अस्पतालको आईसीयूमा भर्ना भएका प्रधानमन्त्री जोनसोनको स्वास्थय स्थिर रहेको डाउनिङ स्ट्रिका प्रवक्ताले बताएका छन् ।

बेलायतमा पछिल्लो २४ घन्टामा ९ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो बेलायतमा हालसम्मकै ठूलो मृत्यु दर हो । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ५६ हजार पुगेको छ ।

यसैबीच, बेलायतमा कोरोनाको उपचारमा संलग्न ८ जना डाक्टरहरुको मृत्यु भएको छ । विभिन्न मुलुकबाट बेलायतमा काम गरिरहेका डाक्टरहरुमा कोरोनाको संक्रमण भएर मृत्यु भएको बताइएको छ ।

पेरुमा २६ अप्रिलसम्मका लागि आपतकाल घोषणा गरेको छ । पेरुका प्रधानमन्त्री मार्टिन भिजकेराले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखि आपतकालिन स्थित घोषणा गरेका हुन् । पेरुमा हालसम्म कोरोनाका कारण ३ हजार संक्रमित भएका छन् भने एक सय ७ जनाको मृत्यु भइसकेको छ ।

फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि १५ अप्रिलसम्मका लागि लकडाउन थप गरेको छ । फ्रान्सका प्रधानमन्त्री इम्यानुएल म्याक्रोनले बुधवार देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनको समय थप गरेको घोषणा गरेका हुन् ।

फ्रान्समा हालसम्म कोरोनाका कारण ११ हजारको मृत्यु भइसकेको छ र एक लाख ११ हजार भन्दा बढी संक्रमित भएका छन् ।

टर्कीमा कोरोना संक्रमितको संख्या ४ हजार भन्दा माथि पुगेको छ भने त्यहाँ ८ सय १२ जनाको मृत्यु कोरोनाका कारण भएको बताइएको छ ।

कोविड–१९ का कारण हालसम्म विश्वभर ८८ हजार नागरिकको मृत्यु भइसकेको छ । यस्तै १५ लाखभन्दा बढी संक्रमित भएका छन् भने ३ लाख २० हजार कोरोना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् । 

Last modified on 2020-04-09 08:20:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts