सुदूरपश्चिमबाट एक हजार एक जनाको नमूना संकलन, एक सय ८४ को मात्रै परीक्षण

धनगढी, २७ चैत । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको परीक्षणका लागि नमूना संकलन थालिएको ५६ दिनमा एक हजार एक जनाको नमूना संकलन गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार अहिलेसम्म एक हजार एक जनाको नमूना संकलन गरिएको हो ।
प्रदेशका विभिन्न अस्पताल, ¥यापिड टेष्टको टोली र नेपाली सेनाको टोलीले अहिलेसम्म एक हजार एक जनाको नमूना संकलन गरेका हुन् । नमूना संकलनको कार्यलाई तिव्रता दिइएको भएपनि परीक्षण भने निकै सुस्त भइरहेको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म एक सय ८४ जनाको मात्रै परीक्षण गरिएको छ । मंगलवारसम्म एक सय ७४ नमूना परीक्षण गरिएकोमा बुधवार थप १० जनाको नमूना परीक्षण गरिएको हो ।
बुधवार प्रदेशमा स्थापना भएको प्रयोगशालामा ६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार जनाको मात्रै नमूना परीक्षण गरिएको हो । एक सय ८४ वटा थ्रोट स्वाबको नमूना परीक्षण भएकोमा अहिलेसम्म चार जना बाहेक सबैकको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले जनाएको छ ।