यस्ताे छ सरकारले कोविड–१९ का लागि बनाएको कार्यविधि

काठमाडौं, २६ चैत । सरकारले कोविड–१९ को लागि बनाएको मापदण्ड व्यवस्थापन कार्यविधि परिमार्जन गरेर कार्यान्वयनमा ल्याएको छ ।
कोविड–१९ को संक्रमण र रोकथामका लागि जथाभावि क्वारेन्टाइन निर्माण गर्न थालेपछि सरकारले क्वारेन्टाइन व्यवस्थापन सम्बन्धी मापदण्ड परिमार्जन गरेको छ ।
सरकारले सबै स्थानमा क्वारेन्टाइन व्यवस्थापन कार्यविधि, पीपीई कार्यविधि, उपचार व्यवस्थापन कार्यविधि, र्यापिड टेस्ट र स्वाबबाट हुने जाँच सम्बन्धी कार्यविधि तयार पार्नुका साथै कोरोना संक्रमितको मृत्यु भएमा त्यसको शव व्यवस्थापन कसरी गर्ने भन्ने पनि कार्यविधि तयार पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
कोविड–१९ सम्बन्धी मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा उनले यसअघि क्वारेन्टाइनका लागि बनाइएको मापदण्डमा उपचारदेखि शव व्यवस्थापनको कुरा समावेश नगरिएकाले यी बुँदा थपिएको बताए ।
यस्तै चैत महिनाभरि बाहिरबाट नेपाल आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङको कामपनि सकिएको उनले जानकारी गराए ।
डा.देवकोटाले नेपालमा कोरोनाको जोखिमलाई ध्यानमा राखि थप ३ स्थानमा कोरोनाको जाँचका लागि मेसिन जडानको काम भइरहेको बताउँदै धनगढी, नेपालगञ्जको भेरि अस्पताल र पोखरामा मेसिन जडान भएपछि नमूना जाँचमा तीव्रता आउने बताए ।
यस्तै दिपालयमा पनि नमूना संकलनको काम भइरहेको छ । कैलाली र कञ्चनपुरमा गरि हालसम्म १ सय ९८ वटा नमूना संकलन भएको उनले बताए ।